दुलुमणि उपाध्याय(असम)

आज जीवन सागरको
माझटापुमा उभिएर
म प्रकृतिको सुन्दरतामा
मग्न भएर हेरिरहेकी थिएँ
कतै सुन्दर फूलको बगैँचा
कतै सुन्दर फलको बगैँचा
कतै अग्ला-अग्ला पहाड
कतै सुकेको बालुवा
आफ्नो आफ्नो सुन्दरतामा
सबै छन् हाँसी खुसी
भन्दैन सृष्टिले कहिल्यै
कसैको सुन्दरतामा कमी
तर मान्छे छैनन् कहिल्यै खुसी
प्रश्न गर्छ धेरै यो मनले
के त्यो स्याउ मात्रै फल हो
आँप फल हैन र ?
गोदावरी मात्रै फूल हो
सयपत्री फूल होइन र ?
छोरा मात्रै सन्तान हो
छोरी सन्तान हैन र ?
किन छोरालाई वंश भनिन्छ
छोरी पनि शरीरकै अंश हैन र ?
तथाकथित शिक्षाले
झलमलाएको मनमा पनि
किन छोरी भन्ने साथै कुँडिएको देखिन्छ ?
भन्न पनि लाज हुने भयो
छोरा नभए त पितृलोकको
ढोका पनि खोलिन्न अरे
कसले देखेरै आयो
भनिदिनुहोस् न मलाई
पितृलोकबाट फिरेरको आएको छ ?
यो लिङ्ग भेदभाव गरेर
धर्मको नाममा नपारौँ
मानवताको बेहाल
छोरा र छोरीको विष घोलेर
नगरौँ बरबाद कसैको संसार
मान्छे बनोस् सन्तान सधैँ
न छोरा न छोरी होस्
दुवैमा आयो मनुष्यता भने
राख्नेछन् कीर्ति वंशको
अर्काकै आँगनमा फुल्यो भने पनि
फूलले बास्नै छरिदिन्छ
त्यो नबुझ्नेहरूले आज पनि
छोरीलाई भ्रूण नै मारिदिन्छन्
छोरी नै भएनन् भने यो संसारमा
सृष्टि कसरी गर्ने ?
अर्काकै आँगनमा फुले भने पनि
छोरी हुन् मगमगाउने
सोचाइमा नै गल्ती छ हाम्रो
छोरी भोगका सामग्री होइनन्
सम्पूर्ण परीवार सम्हालेर पनि
अघि बढ्दै गएका छन्
मेरै छिमेकी यहाँका
छोरैछोरा घरमा
सबै विदेशमा बस्ने
आमाबाबुको सेखपछि आएर
भिट्टासम्म बेच्ने भए
तर त्यो तल्लो घरमा भने
एक्लै छोरी नै थिइन्
बाबु र आमाको नाम राख्ने भनेर
घरैमा आश्रम खोलिन्
हेर्नुहोस् अब त न छोरा होस्
न त छोरी नै होस्
गरौँ न सन्तानको कामना ।।