श्रीमान्
मेरो नाम वीरवहादुर सुनुवार
उमेर ९० वर्ष
श्रीमतीको उमेर ७७ वर्ष
अल्जाइमर्सले ग्रस्त मेरी पत्नीको उपचार गर्नुछ
मलाई काम दिनुस् !
छोराछोरीको आआफ्नै दुनियाँ छ
म आफ्नै पसिना बगाएर
श्रीमतीलाई स्याहार्न चाहन्छु ।
सिंहदरबारको रङ उडेको छ
जताततै टाटा देखिन्छन्
लेउ लागेका छन् अट्टालिकामा
म
मेरा चाउरी परेका हातले
सुम्सुम्याउन चाहान्छु यिनै सरकारी भित्ताहरू !
सिधा कुरा भन्छु –
केही समय जिल्लामा राजनीति गर्दा
गाउँबाटै लखेटे माओवादीले
ती अहिले मेरा नेतासँगै सरकारमा छन् !
‘मेरा नेता’ र उनीहरू
ब्रेकफास्ट गर्न फाइभस्टार पुग्छन्
रिफ्रेस हुन रिजोर्टमा पुग्छन्
उपचार गर्न दिल्ली पुग्छन्
नेता हुन्—
त्यसैले
कोही ‘सर्प पाल्न’ बजेट पाउँछन्
कोही ‘बजेट पाल्न’ सर्प खोज्छन् !
म यतिबेला सिंहदरबारमै छु
म आर्थिक सहायता मागिरहेको छैन
रङ लगाउने काम माग्दैछु श्रीमान्
मलाई काम दिनुस् !
म मेरा पसिनाले सिंहदरबार उज्यालो बनाउन चाहन्छु ।
रङ्ग नमिलेको ‘डार्क रुम’मा बसेर
अपारदर्शी काम गर्दै आएका
मन्त्री र सचिवका बैठक कोठामा
मेरै हातले सफा रङ भर्न चाहन्छु !
मजस्ता सिधासादालाई विस्थापित बनाएर
निहत्थामाथि गोली दागेर
सिंहदरबार छिर्नेहरुले लत्पत्याएको रगतलाई मेट्न चाहन्छु ।
……
(दोलखाका पूर्व जिल्ला विकास समिति सदस्य वीरवहादुर सुनुवार अहिले पनि काठमाडौँमा विस्थापित जीवनयापन गरिरहेका छन् । उनमै समर्पित ।)
तस्बिरमा लौरो टेकेका बीरबहादुर । तस्बिरः कान्तिपुर
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।