सरस पाण्डे

याद छ मलाई ती दिनहरू,
ऊ कलम बोकेर स्कुल जान्थ्यो
म लौरो बोकेर गोठालो
मलाई लाग्थ्यो
कलम र लौरो
सँगै स्कुल जान हुँदैन ।
याद छ मलाई ती दिनहरू,
पाइन्ट लगाउनेहरूको ढाडमा किताब हुन्थे
घाँगर लगाउनेहरूको ढाडमा घाँसको भारी
मलाई लाग्थ्यो
पाइन्ट र घाँगर
सँगै स्कुल जान हुँदैन ।
याद छ मलाई ती दिनहरू,
कलमसँग लुगाको के सम्बन्ध छ बा !
म पनि दाइको पाइन्ट लगाउँ आमा !
तँ म जस्तो बन्नुपर्छ
दाइ म जस्तो
दुवैको स्वर एउटै हुन्थ्यो
मलाई लाग्थ्यो,
लामो कपाल र छोटो कपाल
सँगै स्कुल जान हुँदैन ।
याद छ मलाई ती दिनहरू,
दाइको पाइन्ट काटेको
आफैँ कैँचीले कपाल छाँटेको
बा ! अब स्कुल जाउँ ?
आमाको आँखाबाट पानी
बाको ओठबाट मन्द हाँसो
खसिरहेको देख्थेँ
मलाई लाग्थ्यो,
आँसु र हाँसो
सँगै स्कुल जान हुँदैन ।
याद छ मलाई ती दिनहरू,
धेरै दिन रोएपछि
आँसुले मुहार धोएपछि
आमाले कपालमा तेल लगाइदिएको
बाले हातमा कलम थमाइदिएको
पाइन्ट फुकालेर घाँगर नै लगाइदिएको
धोक्रोको झोला बोकाइदिएको
त्यसपछि
मैले थाहा पाएँ,
घाँगर र पाइन्ट
सँगै स्कुल जान हुँदो रहेछ …….