साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

मान्छे र मौरी

कविता

Chovar Blues Mobile Size

तिम्रो
लालीले सजिएको
ओठलाई
फूल जस्तै देखेर
मौरीले
रस लिनलाई
खिल गाड्यो भने
तिमीलाई दुख्दैन?

मौरीले त
फूलको रसबाट
मह बनाउँछ
आफ्नै श्रमबाट
बनाएको
आफ्नै चाकामा
आफ्नै कला सजाउँछ
तिम्रो ओठमा
रसाउँदै गरेका
थोपालाई
बटुलेर लग्यो भने
साँच्ची
मौरीले के बनाउँछ?
फूलको रस भन्दा पनि
ओठका रसिला थोपाहरू
झन मीठो लाग्यो भने
मौरीले
लुकाउँछ कि सजाउँछ?

मान्छे त
राम्रो चिज
लुकाएरै राख्छ
बाँड्दैन
पाएसम्म
केही नै छाड्दैन
त्यसैले त
मान्छे मौरी हुँदैन
मौरी मान्छे बन्दैन।

तर दिप्ति
ओठ पनि फूल बनेर फूल्छ र?
मौरीले त
मन पराएर
चुस्छ नि फूललाई
चुस्ने क्रममा
खिल गाड्छ
डाम छाड्छ
तर भन्देऊ न-
मायाले
डामेर छाडेको ठाउँमा
दुख्छ कि दुख्दैन?
एकपटक माया गरेपछि
बाँकी माया
सुक्छ कि सुक्दैन?

मौरीलाई पो सोधूँ कि –
ऊ एकपटक
बसेको फूलमा
फेरि बस्छ कि बस्दैन होला?
एकपटक
चुसेपछि
मायाको रस
सधैंलाई
सुक्छ कि सुक्दैन होला?
माया त सुक्नु हुन्न
माया नै सुकेपछि
के नै पो रसाउँछ र?
माया त दुख्नु हुन्न
माया नै दुखेपछि
केले पो हँसाउँछ र?

बरू तिमी पनि
कानका झुम्कालाई
बिस्तारै हल्लाऊ
टल्किएको
केशलाई
आफैँले चलाऊ
आफैँले चलाउँदा
पनि त आनन्द आउँछ
त्यही आनन्दमा
रोमान्चित बन
र आफैँसँग उड
आफैँ नउडी
कतै देखिन्न
आफैँ नहिँडी
कतै पुगिन्न ।

sagarmani mobile size

म पनि हिडूँ कि भनेको!
तिम्रो
निधारतिर झरेको कपालले
बोलाएको हो र?
हो भने
भन है, ल!
म पासपोर्ट बनाउँछु
भिसा लाग्न पनि त समय लाग्छ
तिम्रो इमिग्रेसनमा
छाप पनि त लगाउनु पर्ला
भिसाबिना
सबैतिर त
कहाँ पस्न सकिन्छ र?
पिँढीमै भए पनि
बास दिन्छ्यौ नि हैन?
दिइनौ भने त
त्यहाँ आएर
कहाँ बस्न सकिन्छ र?

मौरीलाई पो
केही चाहिन्न त
मान्छे त
मौरी हैन नि त !

प्रतिक्रिया
Loading...