टंक पन्थ

म खेत-खेतमा पुगी सुगन्ध नै फुलाउँछु
म फाँट-फाँटमा डुली नयाँ प्रबन्ध ल्याउँछु
म कर्म गीत गाउँदै हिमाल उच्च चुम्दछु
म मन्त्रका असङ्ख्य यी सुरम्य नाद सुन्दछु ।।

सगर्व उठ्नुपर्छ है सबै मिली बढौँ अघि
सचेत बन्नुपर्छ है सदैव लक्ष्यमा बढी
उराठ बन्नु हुन्न है उठौँ युवा जुटौँ अब
विकासमार्गका सिँढी चढौँ भएर अब्बल ।।

चिराग आज बाल्दछौँ पहाडका कुना-कुना
हिसाब साथ फाल्दछौँ मधेसका तुनाबुना
हिमाल कान्तिको छटा अझै प्रगाढ पार्नु छ
समानता छ मर्म यो बुझी अभाव टार्नु छ ।।

उजाड गाउँ यी सधैँ उदास छन् र खिन्न छन्
अजस्र आँसु खस्दछन् मुराद छिन्नभिन्न छन्
अमूल्य ओखती हुने प्रशस्त छन् जडीबुटी
कहाँ बुझे र ब्रह्मले रमाउनै गए उठी ।।

निराशका कुरा गरी मभित्र राष्ट्र बोल्दछ
निकास हुन्न क्यै भनी डटेर व्यङ्ग्य कस्दछ
हुती भएन क्यै भने किनार लाग्नुपर्दछ
थिती बसेन क्यै भने सुधार्न थाल्नुपर्दछ ।।

उचाल्नुपर्छ पाइला उराल्नुपर्छ सागर
सुधानुपर्छ सभ्यता उमार्नुपर्छ जाँगर
घिसार्नुपर्छ जीर्ण ती बसाल्नुपर्छ पद्धति
निखार्नुपर्छ योग्यता दिएर प्राण आहुति ।।

अबेर धेर भो बुझौँ भविष्य कर्णधार ए !
गमेर तथ्य यो बुझौँ समस्त सूत्रधार ए !
हुँदैन क्यै यहाँ भनी दबाबले रुँदैन क्वै
छ दिव्य देश विश्वमै अभावले छुँदैन क्यै ।।
छन्द- पञ्चचामर