आज म मरेको दिन
मेरो यो शरीर लास बनी पल्टिएको छ
मान्छेको घुइँचो लागेको छ अन्तिम बिदाइ गर्न
मेरो आँखा बन्द छ, नाकमा रुइ ठेसिएको छ
सेतो कात्रो शरीरमा ओडाएका छन्
हरियो बाँसमा, हरियै चोयाले बेसरी कसिएको छ
मेरो परिवारलाई थाहा छ मलाई मारियाको छ |
आमाको आँसु सुकिसक्यो, बुबाको गला
दुवै पल्टिएका छन् अचेत आवस्थामा
भाइ मेरो छेउमा बसेर आँसु बगाइराखेएको छ
आफन्त भन्दै छन् कलिलो उमेरमै गयो
मेरी आमालाई मात्र थाहा छ मलाई कस्ले माऱ्यो
बुबालाई मात्र थाहा छ किन मारियो
बोल्न सक्दैनन् कोही पनि
सबैको मुख कानुनले बाँधेको छ
मेरो परिवारलाई मात्र था’छ मलाई मारिएको छ |
मर्नुको रहस्य अरू कोहीलाई पनि था’छ
ऊ पनि चुप छ, आँखामा कालो पट्टी बाँधेको छ
हातमा तराजु झुन्डिएको छ
समान हकका लागि राखियको तराजु
मेरा लागि एकापट्टि मात्र तुर्लुङ्ग पारी झुन्डाइएको छ
आफन्तले मेरा लागि न्याय माग्दा पनि
ऊ आँखामा मात्र होइन कानमा पनि ठेसो कोची बसेको छ
मेरी आमालाई सोध मलाई मारिएको छ |
पेलियो मलाई ठेलियो विदेश
हातमा डिग्रीको प्रमाणपत्र बोकी विदेश जाँदा
देख्यौ होला नि मेरी आमाको आँसु अनि
बुबाको झर्न नसकेका टिलपिलाँउदा आँसु
देख्यौ होला नि मलाई रातो बाकसमा ल्याउँदा
खुसी भयौ होला नि श्रमिकको ज्यान लिँदा
आफन्त सोच्दै होलान्
बिचरा जिन्दगीको खेलसँग यति चाँडै हाऱ्यो
अब भन त मलाई कस्ले माऱ्यो??
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला