
धर्को एउटा निर्माणको सपना हो
अक्षरको काया अनि जागृतिको मायाँ हो ।
अक्षर बन्न नसकेका धर्काहरू
फक्रिन नसकेर ओइलाएका कोपिलाजस्ता
छाती नापेर नपुगेका अस्वीकृत सिपाहीजस्ता
अनि हुलका हुल बादलजस्तै
हावाको झोक्काले हुत्याएका
आकाशका नीला तन्नाहरूमा ।
म पनि एउटा अक्षर बन्न नसकेको
सर्पजस्तै धर्को हुँ
आहाराको खोजीमा
खस्रे भ्यागुता र डुग्रे मुसाहरूको
पीछा गर्दै छु – लगातार
सङ्घर्ष जारी छ ।

कमल अर्याल
लामा र लमतन्न डिकाहरूले
साना धर्कामाथि जमाएको प्रभुत्व
कम छ र सास्तीको कथा
डिकाका तुइनमा झुन्डिएर तुर्लुङ्ग
बिचरा गरीब धर्काहरू
तुइन काटिएर छ्वाप्लाङ्ग महाकालीको पानीमा
चोपलिँदा सास छोडेको शरीरझैँ बनेका छन्
अक्षरसँग नाता टुट्दा – कङ्गाल बनेका छन् ।
जीवन छैन, घाम अनि जून छैन
रूप छैन सुर अनि धून छैन ।
धर्काहरू शब्द बन्न लगातार
खाडीका ताताहावाहरूमा बालुवा चालेर
आगो निलेका मान्छेजस्तै
व्यथाका पहाड नापिरहेछन्
च्यातिएका छाना फेर्न
फाटेका फरिया, कछाड र मजेत्रो किन्न
घर छाडी हिंडेको लाहुरेझैँ
अनवरत कष्टका नदीमा बग्दै
तैरिन खोजेका मान्छेझैँ
ब्युँतिन खोज्दै छन् – काव्य पङ्क्तिहरूमा ।
ए हेरन !
असनका साँढेजस्ता धर्काहरू
माइतीघर आसपास जिन्दावाद र मुर्दावादमा
सिंहदरबारका बार्दलीमा
आड पाएर डुग्रेका झुसिला डकारहरू
केही धर्का बारुद बोकेर हिँडेका छन्
केही धर्का
सामन्ती डिकासँगको सङ्घर्षमा छन्
खोज्दै छन् केही धर्काहरू एउटा सग्लो जीवन ।
सङ्घर्ष मान्छे पनि गर्दै छन्
अनि धर्काहरू पनि
मान्छे पनि त एउटा जिउँदो धर्को हो
जीवन अक्षरको ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२६ कार्तिक २०८२, बुधबार 









