साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book

रगत माग्ने देशको नाममा…

कविता

Chovar Blues Mobile Size

ए देश!
तिमीले थमाएको महेन्द्रमाला छिचोलेपछि नै हो
म, चम्किलो रातो ताराप्रति आशक्त भएको!

मन्त्रजस्तै कण्ठ भए
तिम्रो महेन्द्रमालाका वीरगाथाहरु,
राजा, महाराजाका शाहसका कथाहरु!
तिनले देश बनाए
तिनले सिमाना बिस्तार गरे
तिनले वैरीलाई लखेटे
तिनले गर्दा दुनियाँको सामु देशको शीर उँचो भयो
यस्तै यस्तै….

तर
तिम्रो महेन्द्रमाला झुटा निस्क्यो
जब बाजेले सत्य सुनाए,
ती राजाहरु थिएनन्
जसले
सतलज र टिस्टासम्म खुकुरी नचाए,
आफ्नै रगतले सिमाना कोरे,
देशको धर्तिमा खस्ने बम आफ्नो छातिमा थापिदिए,
देशको स्वाभिमानका लागि शीर कटाउन राजी भए,
ए देश! तिनीहरु राजा थिएनन्
उनीहरु त रैति थिए,
तिनैका दरसन्तान म आज
तिम्रो अघिल्तिर उभिएर
तिमीलाई सोधिरहेकोछु
तिमीले किन ढाँट्यौ?
खै तिनको इतिहास?
खै तिनको विरासत?
खै तिनको वीरगाथा?
रैतिले जोगाएको देशमा
रैतिले निर्माण गरेको देशमा
उसकै नाम मेटिएपछि
“तुङ् च” हरु जन्मिरहने छन्

ए देश!
थाहा छ तिमीलाई?
मेरो माने र तीन चुलाहरु सुम्पिएर
तिम्रो संस्कृति जोगाएकै हो,
मेरो ढोल, झ्याम्टा, च्याब्रुङ्ग, डम्फु, धिमेहरु तिमीलाई जिम्मा दिएर
तिम्रै तालमा नाचेकै हो,
मेरो साकेन्वा, सेलो, पालाम, हाक्पारेहरु तिम्रै कोतमा थुपारेर
तिम्रो जय जयकार गरेकै हो,

तर,
तर मेरो सारा परिचय खोसेर तिमी
अट्टाहस गर्दैछौ,
मलाई नाङ्गेझार पारेर तिमी
मलाई नै खिज्याइरहेछौ,
अझ बढी त
मेरै आँगनमा बसेर मलाई
बलेँसीमा नटेक्न भन्दैछौ,
मेरै आमाको ढुंग्री, बुलाकी खोसेर
सौन्दर्यको प्रश्न बनाउँदैछौ,
त्यसैले मलाई मन पर्छ
“रातो चम्किलो तारा”

नत्र भने,
च्यातिदेऊ तिम्रो झुटो महेन्द्रमाला,
लेखिदेऊ इतिहासमा छुटेको नाम,
थपिदेऊ इतिहासमा छुटेको मेरो अध्याय,
भत्काइदेऊ मेरा निम्ति बनाएका सारा पर्खालहरु,
अनि
यदि देश, देश जस्तै लाग्यो भने
यदि इतिहास, इतिहास जस्तै लाग्यो भने
यदि जीवन, जीवन जस्तै लाग्यो भने
र म, म पनि नागरिक हुँ भन्ने आभास भयो भने
मैले नि भन्नेछु
यो देशको नागरिक भएको दिन
देशले रगत मागे, मलाई बलि चढाऊ….

हतुवागढी – २ लुङ्गिन, भोजपुर
हाल: दक्षिण कोरिया

प्रतिक्रिया
Loading...