डा. कालु शर्मा

गाउँ बेसी गर्दै पढेर आएँ, जागीर खोज्न कता जाने होला ?
तराई, पहाड र हिमाली भेक, जता पठाए नि जानेनै होला ।।

दुर्गममा दुःख कति हो कति, खोला र नाला तरेरै हिंडौँला ।
राष्ट्रको सेवा गर्न हिंडेसी, परेमा साथी ज्यान पनि दिउँला ।।

हिमालमा कति जाडो छ भाई, राडी पाखी ओडेरै बसौंला ।
तराईको गर्मी खलखल पसीना, गम्छाले पुछ्दै नि बसौंला ।।

दशैँ बिदामा दशैँखर्च बोकी यो चाड दशैँको घरै मनाउँला ।
बजारमा हेर्दै लत्ताकपडा, घरखर्ची किन्दै उकालो लागौँला ।।

दशैँमा गाउँमा भेटघाट गरौँला, पिङ खेल्दै रमाइलो गरौँला ।
बाआमाको हातको दशैंको टिको लगाउने रहर नि मेटौँला ।।

भनसुन कसैको किन्पो चाहियो, दुर्गम सेवाले बढुवा भैहाल्छ ।
सात प्रदेशका सतहत्तर जिल्लामा यो जोवन डुलेरै गैहाल्छ ।।

इमान्दार जागीरेले दुखम सुखम गरी एउटा घडेरी किनेछन् ।
महँगी छ यस्तो घर बनाउनै गाह्रो, पुरपुरोमा हात राखेछन् ।।

जागीर खाइन्जेल केटाकेटी पढाउँदा परिवार नि हेर्न पाइएन ।
सधैंको सरकारी दौडधुपले हेर आफैलाई जँचाउन् नि पाइएन ।।

सेवाबाट निवृत्त हुँदा पेन्सन सुविधा, खासै धेरै पनि पाइएन ।
रमाइलो यो जोवन बितेरै गयो, भने जस्तै गर्न नि पाइएन ।।

सरकारी जागीरको शानै कस्तो गाडीघोडा चढे नि पाइन्थ्यो ।
रिझाउन सके माथिकालाई, विदेश भ्रमण गर्न नि पाइन्थ्यो ।।

छोराछोरीको लागि भन्दै जागिरे जीवन, दुःख जति नि सहुँला ।
बाँचिएछ भने ए बुढी ! हामी पनि साठी कटेसी नै रमाउँला ।।