कति राम्रा समय आए
रोक्न सकिएन
नयनभित्र थुन्न खोज्दा
थुन्नै सकिएन ।
याद बनी मस्तिष्कमा
रहनु सिवाय
बिन्तिभाउ गर्दा पनि
थाम्नै सकिएन

त्यस्तै
पीडाका समय आए
वेदनाका समय आए
भोग्नै पर्‍यो
झेल्नै पर्‍यो
जति नरुचाए पनि
पठाउनै सकिएन
हटाउनै सकिएन
नभोगी बिताउनै सकिएन

कुनै समय
सुखको समय
यौवनको समय
बाल्यकालको समय

समय न हो
कहाँ रोकिन्छ र
चाहँदैमा

बितिहाल्छ
ओझेल परिहाल्छ
दौडिहाल्छ

त्यस्तै
दुःखको समय
वृद्धावस्थाको समय
रोगाएको समय
भोकाएको समय
दुखेको समय
नचाहँदैमा
किन आउँदैनथ्यो
आउँछ
भोग्नै पर्छ
झेल्नै पर्छ
बिताउनै पर्छ
किनभने
समय न हो
बितिहाल्छ
गइहाल्छ
बस्दैन टाँसिएर
कसैसँग
फगत गइदिन्छ
नरोकिई
एकनास

यो पनि यस्तै
समय हो
अहिलेको
प्रकृतिले बदला
लिएको
या ईश्वरले
लिएको परीक्षा
मानव जातिसँग
आविष्कारसँग
विज्ञानसँग
अहमसँग

त्यसैले
आज मान्छेबाहेक
सबै ठीक छ
वातावरण प्रदूषण
मुक्त छ
फूलहरु मस्त छन्
चराचुरुङ्गी फुरुङ्ग
उन्मुक्त छन्

फगत
मान्छे मात्र
विवश छ
थुनिएर बाँच्न
निसास्सिएर बाँच्न
खुम्चेर बाँच्न

किन ?
समय हो
सिकाउन आएको छ
बुझाउन आएको छ
झकझकाउन आएको छ
तर
बितिहाल्छ
गइहाल्छ
रोकिँदैन
भोलि नयाँ समय
उदाउनेछ
नयाँ बिहानी लिएर
नयाँ विश्वास लिएर

बल्खु, काठमाडौँ