सेतो नम्बर प्लेटको
रातो अङ्कको घर
त्यस भित्र गुम्सिएर बसेको दुर्गन्धित
त्यो कालो मन
अचेल टाढासम्म बसाउँछ,

प्लेटका नम्बरहरू
जति चाँडो फेरिन्छन्
लुटको साम्राज्य छाउँछ
विवेकहीन
विवेक शून्य
काला मन र मष्तिस्कहरू
चाँडोचाँडो समयलाई समात्न दौडन्छन्,

क्रूर समय
परिवर्तन चाहँदैनन्
लामो र कालो साम्राज्यमा नै रमाउँछन्
यो नियति या समयको अनजानपन
राता अक्षरहरू निदाएका छन्
घनघोर अन्धकारभित्र
पारपाचुके अघिको अभिनय
उनीहरूको विवशता भएको छ,

यो अनमेल विवाहको अन्त्यको संघारमा
सेता प्लेटहरू आज राता परेवाका बथानमा
नाटक रच्दैछन्
स्वाङ् बाँडदैछन्
इतिहासको भष्मिभूत
खण्डहर कथा बोकेर
नीलो, राता र काला अनुहारहरूका प्लेटहरू
निर्लज्ज, पारदर्शी वस्त्रले ढाकिएर
बादशाहका अभिनय गर्दैैछन्
विचरा आफ्नो धरातल थाहा छ
तर बोल्न सक्दैनन्
नग्नतामाथि हत्केला राखे पनि
न त कालो मन छोपिन्छ
न त छ्याङ्ग देखिएको नग्नता
आफ्नै आत्मालाई ढाँटेर
लुगा लाएको छु भन्नैपर्छ,

सत्य सबैलाई छोपेर
अभिनय त गर्नैपर्छ ।