आज २०७९ भदौ २ गते राष्ट्रकवि माधवप्रसाद घिमिरेको दोस्रो वार्षिक पुण्यतिथि । नेपाली भाषा साहित्यलाई ठूलो सम्पत्ति दिएर १०१ वर्षको उमेरमा २ वर्षअघि आजकै दिन उहाँ महाप्रस्थान गर्नुभएको थियो । वि.सं. १९७६ मा लमजुङको पुस्तुनमा जन्मनुभएका घिमिरे सुरुमा माधवप्रसाद शर्माका नामबाट कविता रचना गर्नुहुन्थ्यो । त्यसैअनुसार उहाँको पहिलो कविता वि.सं. १९९२ भदौ १४ गतेको गोरखापत्र साप्ताहिक (हाल दैनिक) मा प्रकाशन भएको थियो ।
त्यसपछि वि.सं. १९९४ आषाढ ५ गते माधवप्रसाद शर्मा घिमिरेको नाम र लंजुं. ठेगानाबाट ‘स्वदेश–भक्ति’ शीर्षकमा कविता प्रकाशन गरी साहित्य सिर्जनामा घिमिरे थरको प्रयोग गर्नुभएको थियो ।
उहाँको पहिलो प्रकाशित कविताका बारेमा कतैकतै भ्रम पनि उत्पन्न हुने गरेको पाइन्छ । त्यसको निराकरण “माफ गर्नोस् राष्ट्रकवि ! खोजी गर्नैपऱ्यो, ‘ज्ञानपुष्प’ कि ‘वैराग्य पुष्प’ ?” शीर्षकको लेखमा गरिएको थियो ।
उहाँको पहिलो वार्षिक पुण्यतिथिका अवसरमा उहाँका छोरा राजीव घिमिरेले बुबाकै हस्ताक्षरको कविता सामाजिक सञ्जालमा राखेर श्रद्धासुमन व्यक्त गर्नुभएको थियो, जुन हामीले यहाँ प्रस्तुत गरेका छाैँ ।
माधव घिमिरे नेपाली भाषा साहित्यका मात्र होइन विश्व परिवेश र पूर्वीय दर्शनको फ्युजन गराउने कविका रूपमा पनि चर्चित हुनुहुन्छ । बङ्गाली भाषाको शीर्षक रहेको उहाँको एउटा कविता पनि यहाँ प्रस्तुत छ ।
आमी भालोवासी- म माया गर्छु
माधव घिमिरे
हृदयमा मधु हजुर, अधरमा हाँसी
विश्वकवि ! बोलिरहेछौ –आमी भालोवासी
आमी भालोवासी
आज स्वर्णप्रभातमा रविलाई देखेँ
रविबिम्बभित्र त्यही छविलाई देखेँ
तिमी आफ्ना सिर्जनामा सधैँ अविनाशी
विश्वकवि ! बोलिरहेछौ –आमी भालोवासी
आमी भालोवासी
सागरका लहरमा बहिरहेछौ तिमी
विश्वप्रेमको वीणा बजाई गाइरहेछौ तिमी
सौन्दर्यका तरङ्गमा सत्यजस्तै भासी
विश्वकवि ! बोलिरहेछौ –आमी भालोवासी
आमी भालोवासी
प्रास्रास्रवीत् कविः सिन्धोः ऊर्मौ अधिश्रितः ।
कारुँ बिभ्रत् पुरुस्पृहम् ।
ऋग्वेद
तैरिरहेछ कवि सिन्धुका लहरहरूमा चढेर
विश्वमनोहारी वीणा बजाउँदै ।
यो कविता हिमाल खबर पत्रिकाबाट लिइएको हो । हिमालमा यो कविता यहाँ पाइन्छ :
http://nepalihimal.com/article/7154
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।