साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कविता : घुम्ती बिक्रीमा छ

भाग्यले जुराएपछि न रहेछ
सात फेरो अग्निमा घुम्नु
घुम्नु सम्बन्धमा
अनि, बाँधिनु मङ्गलसूत्रको दोभानमा
अनि बन्छ सम्बन्ध
माई र जोगमाईको जस्तो

ऋजन मायालु

टाढाटाढा धेरै टाढाबाट
अचानक म खसेँ
र, बज्रिएँ तिमीमा….
म वर्षा भएपछि मात्र हो
तिमीले छाता ओढ्ने बहाना बनाउन थालेकी
पानी बसिरहे
छाता छिचोलेर भए नि पानी चुहिँदोरहेछ
र, त म चुहिएँ तिमीमा

सम्बन्धित पोस्टहरु

साइँली !
भूलभएछ ऊ बेला
नजरको निशानाले सिमाना काट्नु
सिमाना काटेर टाँकीको फूलमा प्रेम बस्नु
तिमीले पनि नाईँ भनिनौ
म पनि पछि हटिनँ

फूल बनेर
आँखाको बाटो गरी
मनमा लम्केर
तिमी नै हौ काँडाले घोच्ने
म पनि हँुला
तिम्रो हृदय छियाछिया पार्ने
युद्ध आखिर हुनु नै रहेछ
सीमाना वारिपारि भावनाको
गोला-बारुद चल्न थालेपछि
छातीमा आवेगको ज्वालामुखी
बल्न थालेपछि
सम्बन्ध बन्न खोज्दाखोज्दै
खरानी भएपछि
आज मात्र बुझ्दै छु-
मौनता पनि बोल्दोरहेछ
ओँठले बोल्न बिर्सेपछि
परेलीले बोल्न थाल्दोरहेछ

आमा !
कुरुपताको भाकामा म जन्मेपछि
गरिब गीत गाउँदागाउँदै पनि
लहरेखोकी जस्तो तिम्रो संवेदना
कहिल्यै टुट्न दिइनौ तिमीले
र, त मलाई जन्मायौ
जन्मिएँ आमा म
म प्रेमी छोरो जन्मिएछु
तिम्रो जस्तो प्रेम गर्न नसक्ने

प्रिय,
झरना बनेर पछारिए पछि प्रेममा
हामी छुट्टियाँै बेग्लाबेग्लै
तिमी पूर्व फर्कियौ
म पश्चिम फर्किएँ
एक चोटि मिसिइसके पछि माई-जोगमाई
कसैले छुटाउन सकेनन् यादहरु
म माई भएपनि
छातीभरि जोगमाई बोकेर हिँडिरहेछु
तिमी जोगमाई भएपनि
छातीभरि माई बोकेर
हिँडिरहेकी छ्यौ होली
निरन्तर निरन्तर परपर …….
भीडमा पनि नितान्तर एक्लो
तर पनि फिँजाएर राखेको छु
आशाका फूलहरु
सपनाका बिस्कुनहरु
अझै पनि
यो जिन्दगीको घुम्ती बिक्रीमा छ प्रिय !

प्रतिक्रिया
Loading...