अतिथि देवो भवः
अतिथि देवो भवः
अतिथि देवो भवः
मन्त्र पाठसँगै सुनिन्छ कर्कश आवाज-
ए ! भुसतिघ्रेहरू हो सुन !
काम देखाउने मौका आएको छ
गुलामी गर्ने सौभाग्य मिलेको छ
दत्तचित्त भएर को लाग्न सक्छ हाजिर हौँ !
अधिपति कुर्लिन्छ,
म, म, हजुर हात उठ्छन्‌

नामर्दहरू पाउ छुन्छन्‌
अनि अधीर हुँदै कुर्छन्‌, तथास्तु !

नमिता दवाडी

परमेश्वर हुकुम गर्छ
पाहुना आउँदै छ
ऊ सुकिलो जुत्तामा आउँछ
सडक बढार्नुपर्छ
धुलो कसिङ्गरसँगै
चिप्रा लागेका आँखाहरू
किरा परेका जटिराइरू
चुँडिएका हातखुट्टाका गिँडहरू
सबै-सबै बढार्नुपर्छ
घर सफा गर्नुपर्छ, लमतन्न पसारिएकी
झुत्री आमा फाल्न मिलेन, लुकाउनुपर्छ ।

मन्दिरका घण्टीहरू
बिग्रिएका भए, मर्मत गर्नुपर्छ
रन्किएर बज्नुपर्छ घण्टीहरू
उग्राउँदै वीरताको गुणगान !
आखिर यसैमा त छ हाम्रो वीरता
हरेक दिन निर्मम छप्काइरहेछौ
असत्य अबोध जीवनहरू ।

ठाँटले औँलो ठड्याएर उभिएको
निर्भीकताको सालिक राम्ररी पुछ्नुपर्छ
आखिर स्वाभिमान यही सालिकमै त निहित छ
खोट नरहोस्‌, सफाइमा भन्दिएको छु
टल्किनुपर्छ स्वाभिमान
पाहुनाले देख्नुपर्छ !

तुरुन्तको तुरुन्तै मायावी सुरुङ तयार गर
अभावको ठूलो खाल्डो छोपिनुपर्छ
थोत्रा झ्याम्टाहरू दफन हुनुपर्छ
सफाइमा निस्किएका जीव, निर्जीव
सबका सब गाडिनुपर्छ
पाहुनाले देख्नु हुँदैन ।

सत्कारमा कुनै कमी हुनु हुँदैन
विमानस्थलदेखि हरद्वारमा
बुके लिएर उभिने सुन्दरीहरू खोज
भनिदिएको छु-
तिनीहरू मान्छे नभए पनि हुन्छ
तर सुन्दरता र विद्वत्ताको सम्मिश्रण हुनुपर्छ
पाहुनाको अघि झुक्न जान्नुपर्छ
परिआए सर्वश्व दिन सक्नुपर्छ ।
अतिथि देवो भवः

पुरानो बोतलमा नयाँ पानी भर
यहाँकाले चल्दैन बाहिरबाट आयात गर
होसियार !
व्यञ्जनमा कुनै कमी नहोस्‌
भयो भने यदि
आफैँ कसाही बनेर
पट्पट पड्काउँदै भुटिदिनेछु
तिमी भुसतिघ्रेहरूलाई नै ।

सजिलो कहाँ छ र पाहुना स्वागत गर्न !
अन्तिम तयारीस्वरूप
केहीले खोजी गर, मुलुकभरका जादुगरहरू
सम्मोहित पार्न सक्नुपर्छ आउने पाहुनालाई
निश्चित हुनुपर्छ
उसका आँखाहरू त्यहाँ मात्र नाचून्‌
जहाँ म चाहन्छु
ती मात्रै देखून्‌, जे म देखाउन चाहन्छु,
उसका कानहरू त्यो मात्र सुनून्‌
जे म सुचाउन चाहनु
ऊ पूर्ण रूपमा सम्मोहित होस्‌
स्वर्गीय आनन्द लिएर जाओस्‌, यो पुण्य भूमिबाट
जीवनभर सम्झिरहोस्‌ हाम्रो आतिथ्य !
अतिथि देवो भवः
अतिथि देवो भवः
अतिथि देवो भवः