एउटा झिल्को आगो
चैतको सुक्खा याममा
रुखबाट झरेका पतकर
सल्किँदासल्किँदै एकाएक
जङ्गलमा डढेलो बन्छ,
सुकेको हरियो केही नभनी डढाउँछ ।

जताबाट बतास चल्छ
उतै आगो बल्छ
उत्तरबाट चले दक्षिण जल्छ
दक्षिणबाट चले उत्तर जल्छ
बताससँगै झन् शक्तिमान् बन्दै
अनि पूरै जङ्गल सखाप पार्छ आगो ।

पतकरको बुई चढेर
लागेको डढेलाले

डढाउँदाडढाउँदै
पुरै जङ्गल नसिद्धिउन्जेल जलाइरहन्छ
हरिया रुखको त के कुरा
न किरा फट्याङ्ग्रा बाँकी राख्छ
न चराचुरुङ्गी  बाँकी राख्छ
न जङ्गली जनावर बाँकी राख्छ
बाँकी रहुन्जेलसम्म केही बाँकी राख्दैन ।

राजेन्द्र कार्की

हो, आगाको काम
जलाउने हो
गलाउने हो
तर केही बाँकी नरहेपछि
आखिर आगाले
के जलाउँछ ?
अनि के गलाउँछ ?

थाहा होला कि नहोला
डढेलाको आगालाई
जसले जलाएको जङ्गल

भुङ्ग्रो बनेपछि
तेजविहीन
अनि रङ्गविहीन बन्दै
खरानी हुने हो
अनि अन्तिममा
त्यही खरानीमा हराउने हो ।

डढेलापछिको निरीह आगो
पतकर र रुखविना
न त बल्न सक्छ
न  त जल्न सक्छ
जङ्गल जलाउन ऊर्जा दिने
उही बतासले उडाएको खरानीसँगै
सिद्धिन्छ अस्तित्वविहीन भएर आगो