अस्मिता केसी
बुवा,
त्यस्तो कुनै पल छैन,
जतिबेला हजुरको आवश्यकता महसुस नभएको होस्
त्यस्तो कुनै पल छैन
जतिबेला हजुरको याद नआएको होस् ।
हिजो तपाईँको काधमा बसेर
कानमा कानिकुर्रर…
गर्दै आमालाई हसाएको जस्तो सहज छैन बुवा
आज पनि आमालाई उसैगरी हँसाउन
आमा त हाँस्न बिर्सनु भएको छ
मलाई हँसाउन बिर्सनुभएको छ ।
घर घर लाग्दैन बुवा
तपाईँका यादहरुको संग्राहलय लाग्न थालेको छ
आफन्तहरु आउँछन-जान्छन्
नजरिया र लवज बदलेका छन् ।
मलाई विचरा भन्न थालेका छन्
आमालाई अशुभताको प्रतीक मान्न थालेका छन्
छानो भत्किएपछि त
खर लगेर आगो सल्काउने त दुनियाँ हुँदोरहेछ ।
म हरेक पल भिज्छु-रुझ्छु बुवा
झरी त बहाना मात्रै रहेछ
जसले तन मात्र भिजाउँछ ।
मन भिजाउने त
दु:ख रहेछ
अभाव रहेछ
पीडा रहेछ
अनि परेली भिजाउने आँसु ।
बुवा,
हजुर जून बनेर हामीलाई हेरिरहनू
आमा र म बार्दलीमा बसेर
तपाईँको प्रतीक्षा गरिरहने छौँ ।
प्युठान
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।