साहित्यका विविध विधामा अटाइन् आमा
सन्तानका मनमुटुमा छाइन् आमा
आमा त धर्ती भइन्
तर
देखिनँ मैले बालाई कतै
भएनन् ‘बा’ आकाश कसैका लागि
अहँ भेटाइनँ मैले कतै
उनका कथा व्यथामा रचिएका गाथा ।

गरिमा पाण्डेय

सन्तानका हितका लागि
मैनझैँ सदा जल्दै
त्याग्दै आफ्ना इच्छा, चाहना
सन्तानलाई बचाउन
ज्यानकै बाजी लगाउन तत्पर हुने
लुकाएर दुःख, पीडा, रोग
सुन्दर सपना र भविष्य सजाउने
रातदिन, झरी, घाम नभनी
रगतपसिनामा निथ्रुक्क भिज्दै
निन्द्रा हराएका
आँखाका डिलमा छचल्किएका आँसु थाम्दै
जस्तै कष्टमा पनि हाँस्दै रमाउँदै
खाली पेट बसी सन्तानको भोक मेटाउँदै
आफ्नो पेट टन्न भएको र
खुसी भएको अभिनय गर्ने
शिक्षादिक्षा दिन ऋणसँग जुध्न नडराउने
आफू हारेर भए पनि हरपल संसार जिताउने
सहनशील, कर्मठ, महान् योद्धा, निस्वार्थी व्यक्तित्व
तिनै त हुन् बा ।

चाडपर्वमा नयाँ लुगा चाहियो भन्दा
“त्यही स्कुलको ड्रेस लगा” भन्ने
अनि
“बा ! मेरो चप्पल चुट्यो” भन्दा
बिहान खाए साँझ के खाने चिन्तामा
वर्षौंदेखि फाटेका खाली खुट्टा वनजङ्गल हिँडेका उनी
रित्तो गोजी छाम्दै
“अस्ति भर्खर किनेको त हो नि”, भन्दै
रिसको झोंकमा बर्बराउँछन् एकछिन्
अनि फेरि काखमा राखेर हँसाउने
खेल्ने घोडा बन्दै फकाउने
आफू ठाउँठाउँ टालेका
झुत्राझाम्रा पुराना लुगा लगाई
सन्तानलाई जसोतसो नयाँ लुगा किनिदिने
अनन्त प्रेमका स्वरूप
तिनै त हुन् बा ।

खाली होलान् दुनियाँका बैंक
हुन्छ भरी बाको गोजी सन्तानका लागि
जहाँ आवश्यकताभन्दा पहिले पूर्ति हुन्छन् इच्छा
समुद्रभन्दा विशाल, आकाशभन्दा व्यापक
आफ्ना आँसुबाट मुस्कानको भण्डार निकाल्ने
अद्भुत क्षमता राख्ने
‘प्रत्यक्ष विघ्नहर्ता’
तिनै त हुन् बा ।

हो, राम्रोसँग चिन्छु म मेरा बालाई
नजिकबाट नियालेकी छु उनको दुःखलाई
साँच्चै भन्दा उनी नक्कली हाँसो हाँस्छन्
भोको भए पनि अघाएको नाटक गर्छन्
गोजी खाली भए पनि नकार्दैनन् मेरा इच्छा
त्यसैले त उनलाई संसारकै धनी देख्छु म
उनको कठोर बोलीमा पनि निश्चल प्रेम देख्छु म
वृक्षरूपी ‘बा’को शितल छायाँमा रमाउँछु म
छाता बनिदिन्छन् उनी, ओत लाग्छु म
साथी बनिदिन्छन् उनी, असल साथी मान्छु म
‘बा’को अगाडि अन्य सम्बन्ध फिका देख्छु म
कसको माया बढी लाग्छ भनेर सोध्दा कसैले
‘बा’को भन्छु म
किनकि लड्नुभन्दा अगाडि हात समात्ने
तिनै त हुन् बा ।

ए बा ! शब्दकोशका सबै शब्द पनि कम हुन्छन्
तिम्रो महिमा गाउन
कसरी भुल्न सक्छु र म
तिमीले सहेको त्यो टन्टलापुर घाम, झरी मेरै लागि
बा ! मलाई बोल्न, लेख्न, हिँड्न सिकायौ
ऋणकै भारी बोकेर पढ्न सिकायौ
सङ्घर्ष गर्दै जीवन जिउन सिकायौ
दुःखमा पनि खुसी हुँदै बाँच्न सिकायौ
मेरा लागि अमूल्य छौ तिमी
पैसाले त सबथोक किन्न सकिएला बा !
तर तिमीजस्तै अमूल्य बा
किन्न सकिन्न पैसाले पनि ।

तर विडम्बना !
खुट्टामा ठेस लाग्दा
मुटु चसक्क भएको महसुस गर्ने कतिपय बा
आज तिनै सन्तानको हेय भावको सिकार बनेका छन्
छाडिएका छन् वृद्धाश्रम,
बन्न नसकी बुढेसकालको लौरो
लगाउन नसकी घाउमा मलम
एकपटक गहिरिएर त सोच सन्तानहरू !
संसार चिन्न सिकाउने
सन्तानका लागि सबथोक बनिदिने, सबै रहर पुर्याइदिने
सन्तानको साहस, इज्जत, तागत र पहिचान
तिनै त हुन् बा ।