पिपाषु रक्त उम्लियो नहेर स्यालझैँ गरी
छु शान्त बुद्धझैँ कतै छ भाव वीरताभरि
सहन्छु काट टाउको सहन्न नीच चित्त त्यो
म हार्न दिन्न देश यो म मर्न दिन्न देश यो।

म घाइते हुँ सिंह लौ नजिस्कनू ममाथि है
म राष्ट्रका निमित्त त्यो भो त्याग्न सक्छु स्वर्ग नै
छिमेक होस् कि दूरको म घात ए सहन्न त्यो
म हार्न दिन्नँ देश यो म मर्न दिन्न देश यो।

समस्त लोकमा दह्रो छ देश आज जान्दछौ
भुलेर सौर्य वीरकोे लुटेँ म भूमि भन्दछौ
हुँदैन पूर्ण सम्झ ए खराब तुच्छ प्यास त्यो
म हार्न दिन्न देश यो म मर्न दिन्न देश यो।

म दास बन्न सक्छु तै उदास बन्न सक्दिनँ
छ चाह देश उच्च होस् खटिन्छ सर्वदा मन
अनेक वेदना सही तयार एक राज्य पो
म हार्न दिन्न देश यो म मर्न दिन्न देश यो।

छ ताप सक्छु ज्ञानले म मेट्न क्षुद्र दासता
अशान्तमा छ देश यो म के सहन्छु ? तैँ बता
मिचेर भूमि पापको नखेल खेल अत्ति भो
म हार्न दिन्नँ देश यो म मर्न दिन्नँ देश यो।