यो कस्तो प्रश्न हो ?

मैले बुझ्नै सकिनँ

म को हुँ र के गर्दै छु ?

भन्ने कुरा आज पनि जानिनँ भने

मलाई जिज्ञासा राख्नेहरूलाई

कसरी बुझाउनु मैले

मेरा छोरा, नातिलाई

के दिनु मैले ?

मेरा हजुरबुबाले के दिनुभयो ?

भन्ने प्रश्न म आफैँ गर्दछु भने

हजुर के दिएर जाने ?

नेर पनि सोधिदेलान् मलाई कसैले ।

त्यसैले त म भन्दै छु यहाँ सुन्नुहोस्

मैले बोलेको बोली, मैले पाइला टेकेको

माटो, घामपानी, झरीमा ओत लाग्ने छहारी,

सबै हजुरबुबाकै देन त हो नि ।

अनि फेरि म सोध्छु

हैन के दिनुभयो उहाँले ?

आहा ! कस्तो विडम्बना !

म आफू के दिइँदै छु ?

छोरानातिहरूलाई

त्यो सोच किन आउँदैन मलाई

किन ? किन आउँदैन मलाई

साउने झरीमा भिज्ने डरले

त्यो हिलोमा चिप्लिने डरले

खेतमा नाम्दै नामिनँ भने

बसी-बसी साकार होलान् मेरा सपनाहरू ?

हरियालीले सजिएलान् मेरा खेत ?

लुर्केलान् सुनौली धानका बाला ?

कसरी ?

कसैले ठेलिदिन्छ भन्ने डरले

म नहिँडिबस्नु ?

त्यो त भन्नुभएको छैन मेरो हजुरबुबाले,

उहाँले त मलाई बार-बार

भन्नुभएको थियो, “जा हिँड्,

हिँडिस् भने मात्रै बाटो देख्छस्,

तँ लड्, लडिस् भने मात्रै बढ्छस्

ठेस लाग्यो भने मात्रै

दुखेको वेदना बुझ्लास् ।”

हो नि, मेरा आँखाले झलझली

देखेको छ आज पनि

हजुरबुबाका चरचर चिरिएका

कुर्कुच्चाबाट बगेको रगतका

सुकिसकेका धर्का

हातका औँला औँलाका गाँठा

हत्केलामा निस्किएका ठेउला

त्यो कसका लागि गरिएको

परिश्रमको उपहार हो ?

उहाँ त बित्नुभयो दुःखदुःखैमा

आफ्नो जीवन त्याग्नुभयो

आफूले गरिएका सबै सृजना

हामीलाई सुम्पिँदै

अनि फेरि म ठूलो स्वरले, आँखा ठुला पार्दै,

आमाको प्रेम र विवशतालाई फड्काल्दै

प्रश्न राख्दछु आमालाई

है के दिनुभयो ?

हजुरबुबाले हामीलाई

यो कस्तो प्रश्न हो

आज पनि बुझ्न सकिनँ मैले ।

यहाँ धेरै विज्ञजन हुनुहुन्छ रे

बुझाइदिनुहोस् न मलाई

यो कस्तो प्रश्न ?

बुझाइदिनुहोस् न मलाई ।