वन्दना गौतम (म्यान्मा)

क्रूर सैनिकहरूले

आफ्नो रूप देखाएपछि

देशका कति शिक्षिका युवतीहरू

पक्राउमा परेर

शोषित नभएका हैनन्

तर पनि … ।

 

असत्यको पक्षधर हुनुभन्दा

अन्यायको आवज बुलन्द गर्दै

कर्तव्य बोधले पुरुषको

काँधमा काँध हालेर

नारा बोल्न अग्रपङ्क्तिमा अग्रसर छन्

यहाँका नारीहरू ।

 

अत्याचारबाट मुक्त हुन

अफ्नो सुरक्षाका लागि

निम्ति प्रजाहरूको रक्षक बन्न

जङ्गल-जङ्गल पस्न बाध्य बनायो

समयले ।

हतियार उठायौँ तर

देशद्रोही हैनौँ हामी

हतियार उठाउनु

समस्याको समाधान थिएन

पक्का तर !

हिरालाई हिराले काट्छ

लोहालाई लोहाले नै काट्छ

भोलिका दिनहरूमा समस्याको समाधान खोज्न

हतियार नै नउठाउँला

हतियारले जङ्ग जितिन्न पक्का पनि ।

 

मेरा सन्तति, भाइ, बहिनीहरू हो

वसन्तका चर्को घाम सहेर

वर्षाऋतुको हैजा-बाढी सहेर

लक्ष्यको नजिक,

घोर रात्रिको सामना गर्दै छौँ

भोलि बिहानीको लालीकिरणमा

देश स्वतन्त्र बनेर स्वागत गर्नेछ

आजै हतास नबन ।

 

हामी हतास, निराश बनेर

अत्याचारी सैन्यका सामु

घुँडा टेकिदिने हो भने

नयाँ पिँढी युवाहरूको भविष्य

अन्धकार हुनेछ  ।

 

यही वर्तमान,

हाम्रा काँधमा लादिएर जीवनभर

हामीलाई याद दिलाउनेछन्

नचुकौँ हामी कर्तव्यनिर्वाह गर्न ।

नत्र !

भोलिका दिनहरू आत्मसमर्पणले

आत्माग्लानि हुनेछ ।

त्यसैले जटिल समयको सामना गर्दै

वसन्त क्रान्तिको गीत गाएर

म्यान्मामा प्रजातन्त्र ल्याउनैपर्छ ।