मित्र,

मलाई कविता लेख्न नभन

ढिपी पनि नगर

न त मेरो कविताले समाज सुधार्न सक्छ

न त व्यक्ति मनलाई उच्च विचारको

भवसागरमा पौडिन सिकाउँछ

मेरो कविताले ‘तिमरि ‘लाई पन्छाएर

उज्यालो किरण कहाँ फैलाउन सक्ला

दिन-दिनताका लागि एकमुठी अन्न

कहाँ बन्न सक्ला–

त्यसैले भन्छु मित्र-

कविता कोर्न मलाई जोड नगर

लङ्गडा खोरन्डा अपाङ्गजस्ता

पूर्ण पोषण नपाएका–मेरा कविताले

न त शब्दलाई गुन्न सक्छन्

न त दृश्यलाई गम्न सक्छन्

चैतन्य शक्ति पाएका हरियाली पालुवाका

रङ्गीन सपनाहरू

सप्तरङ्गी मुना- कोपिलाहरूले बुझाएको

त्यो अलौकिक प्रेरणा

खोला -नाला-झरनाका कलकल धुनमा

डाँफे मैना ढुकुर कोइलीको सुरिलो भाकामा

अमोघ,

दृष्टिनन्दन स्वरूप झल्किन्छन ।

मित्र, मैले बुझ्न सकिनँ अनन्तको परिधिमा

रचाउने–

धिपधिप बल्ने हृदयको दियालालाई

अदृश्य सलेदाले बाल्ने अनायास प्रयास

जीवनका मात्राहरू

कविताको लय खोज्दै जाँदा

म सम्झन्छु हृदयलाई स्पर्श गर्ने

सुरिलो भाका लिएर मञ्च- सजाउने

नैसर्गिक आनन्द बुझाउने

महान् कवि कलाकार

मान्यवर हरेन सुब्बा चक्रपाणी शर्मा खेम मैनाली

अञ्जुदेवी  यदुमणि शर्मा कृष्ण मिजार आरतीदेवी

राधा प्रधान, प्रभाकर न्यौपाने, गीताञ्जलिदेवी,

हेमन्त चम्लागाई, नरबहादुर दर्जी आदि आदि देखि

म प्रेरित छु ।

अनेकौँ प्रेरणाले–  अनि मल- जलले

म र मेरो समाज सलबलाएको थियो

अनि मेरो काँचो कवि मन टुसाएको थियो

अफसोस पनि लाग्छ

कहाँ-कहाँ होलान् उनीहरू

समयको बिरानो बेलामा

ओझेलमा परी हराउँदै गएका

सुनिँदैन आज त्यो मधुर सरगम

एकपल सम्झिने फुर्सद पनि नपाउँदा

उदासीन छ यो मन

मित्र,

म सम्झन्छु वर्ड्सवर्थ, टेगोर,

पन्त-निरला, विष्णु- ज्योति र भुपेन दालाई

अनि भानु- लेखनाथ -सम- देवकोटा ,पुष्पलाल- कटुवाल

आदि महान् व्यक्तित्वलाई

जसका आदर्शका किरणहरू प्रेरणाका स्रोत

बनिरहनेछन् ।

म त एउटा अति नै सूक्ष्म

झिनो मान्छे

त्यसैले भन्छु, मित्र

कविताको लय भाकासम्म बुझ्न नसक्ने

म मान्छेको जीवन बोध र

खान लाउनको अभर सम्म टार्न नसक्ने

मेरो कविता–

कसरी जीवन हाक्ने गीत बन्ला

हृदयको चुर बन्ला

त्यसैले भन्छु,  मित्र

कविता लेख्न मलाई ढिपी नगर।