राजेन्द्र पासा (दार्जीलिङ)

१)

हाँसिरहने मन यो मेरो

वरपर व्याप्त छ स्वार्थको घेरो

मृत्युपछि न मेरो न तेरो ।

२)

रामायण पढ्छन् मञ्चमा आई

भानु बाजेको जयन्ती मनाउनलाई

ढाका टोपीमा अङ्ग्रेजी टाई ।

३)

मौसम छ यहाँ मनसुनको

दुःख पाउने त जनता नै हो

जमाना छ यार भनसुनको ।

४)

दैवको लीला उसैको खेल

छैन हामीमाझ रत्तिभर मेल

ज्यानमारालाई यहाँ हुन्छ बेल ।

५)

घाम डुबेर साँझ ढल्किँदै छ

मोतीका दाना आँखामा छल्किँदै छ

नियतिको मारमा जिन्दगी सल्किँदै छ ।

६)

सचेत मान्छेको अचेत मन

नभनी अरूले आफैँ ठूलो बन

छैन हृदयमा उसको आफ्नोपन ।

७)

आकाशको राहु पातालको केतु

पहाडको खोलामाथि झोलुङ्गे सेतु

झरेर कोही नमरे सरकार कसरी चेतु ।

८)

जिन्दगीको रङ्गमञ्चमा रहेछन् कैयौँ खेल

कोही हुन्छन् पास त कोही हुन्छन् फेल

चङ्खो जतिलाई घिउ, तेल सिधासोझालाई जेलनेल ।

९)

मनमा कहिले निको नहुने घाउ छ

आफू-आफूभित्र नै पहाडेलाई बढी ताउ छ

हरक्षण एकअर्कामा लडाउने यहाँ दाउ छ ।

१०)

कलियुगमा हेर साथी धर्मको नाश भएको छ

मानव मनमा उस्तै दानवको वास भएको छ

अहिले त झन मानवतामै ह्रास भएको छ ।