किन गर्छौ शोक यसरी तिमी ?
हेर त गगनमा टुटेका छन् तारा ती कति
कहाँ गर्छन् र शोक तिनले एकैरत्ति
रहन्छ खामोश ओजस्वी सूर्य पनि
आफ्नो तापलाई शीतल पार्दा,
त्यो सूर्य ग्रहण लाग्दा

गर्छिन् पनि त कहाँ गुनासो र ती जूनले
छोपिहिँडे तापनि अलौकिक
चंद्रमुखीलाई ती काला बादलले

नदीले पनि कहाँ गर्छिन् र गुनासो
बर्खाको मैलो भेलको
बग्छिन् निरन्तर
सम्झी त्यसलाई नै आफ्नो नासो

डढेलो लागेको वन, सुसेली हाली
गाउँछ त्यो गीत,
सम्झी चैतकै रीत

सुखी झर्छन् ती सबै पात
पारी सर्वस्व नाङ्गो ती रुखका हात
कुरी बस्छ, आउँदैछ फेरि भनी, मधुमास

गर्दैन पछुतो त्यो पारिजातको बोट
हुँदै जाँदा बिहानको किरणसँग मत्थर
बसेतापनि रातभरि छरी आफ्नो अत्तर
सहजै टिप्न दिन्छ
लटरम्म लागेका ती फल
आँपको रुखले नगरी कुनै हलचल

समुद्रले कहाँ गर्छ र गुनासो
त्यो विनाशकारी
आएको आँधिको

माझी पनि फर्किन्छ कहिले खाली हात
भोलिको आशामा
सुती आधि पेट त्यो रात

नपाउँदा पेटभरि खान पस्छन्
पक्षी पनि घरआँगन टिपी खान
छरिएका ती कनिकाका दाना
पशुपक्षी पनि होमिन्छन्
लुत्रुक्क परी
नवरात्रीको बलि भनी

प्रेमी पनि त प्रियसीको प्यासमा
रात दिन अलमस्त भई
फगत हिंडिदिन्छ, बेहोसीमा

आमा कहिले थाकेकी छिन् र
आफ्ना सन्तानलाई
स्तनपान गराएर

गाई आ-आफ्ना दु:खका गीत
यी सबै भन्छन् “परेकै छ हामीलाई पनि चोट
तिमी मात्र किन कोट्याउँछौ, साना ती खोट
म भन्छु तिमीलाई
सिकी केही यीबाट,
सधैँ मुस्कुराइराख छोडी त्यो हठ

सहनै परे पनि दुःखैदुःख
जीवनका रङ अनेक
बग्छन् निरन्तर बनी कहिले दुःख त कहिले सुख ।