केशव दाहाल

उसबेलाको कुरा हो,
मौसम चिसो थियो
सूर्य झुल्कँदैनथ्यो आकासमा
धुम्म बादलभित्र ब्वाँसाहरूको साम्राज्य थियो
लेकमा कुनै उमङ्ग थिएन ।
एउटा नायक आयो र भन्यो
आऊ, जीवनको उत्सव मनाऊ
किनभने चाँडै घाम उदाउँछ,
बादल हट्छ
शित झर्दैन
र तिम्रो हिमाली बस्तीमा न्यानो छाउँछ ।
मैले पत्याएँ ।

उसबेलको कुरा हो,
हाम्रो पहाडमा अपसगुन थियो
रातविरात हुच्चिल कराउँथ्यो
र बच्चाहरूलाई तर्साउँथ्यो
आमाहरू रुझेका थिए, झरीमा
बाबुहरू चुटिएका थिए, असिनाले
एउटा नायक आयो र भन्यो
आऊ हातेमालो गरौँ र छमछम नाचौँ
झरी रहन्छ, असिना पर्दैन
र तिम्रो सिमखेतमा धान झुल्छ ।
मैले पत्याएँ ।

उसबेलाको कुरा हो,
हाम्रो मधेसमा बाढी थियो
खेत, खलिहान र डगर सबै हिलाम्य
आँप, नरिवल र मेवाका रुखहरू सबैसबै लडेका
सर्पहरूको सम्राज्य थियो दायाँ-बायाँ
र बस्तीमा किञ्चित मुस्कान थिएन
एउटा नायक आयो र भन्यो
आउ गीत गाऊँ
बाढी आउँदैन, भेल रोकिन्छ
तिम्रो खोलामा कञ्चन पानी बग्छ
र बगैँचामा सपना फुल्छन्
मैले पत्याएँ ।

समय बित्तै गयो
उसले जे भन्यो हामी मान्दै गयौँ
उसले भन्यो नारा लगाऊ
उसले भन्यो जेल जाऊ
उसले भन्यो शहिदको पंक्तिमा लामबद्ध बन
बस्, एक दिन
ऊ विजय उत्सवमा अबीरसँग खेल्दै आयो
हामीले फूलका मन्जरीहरू जोड्यौँ
र माला लगाइदियौँ
तर दुर्भाग्य
कहिल्यौ शित, झरी र बाढी रोकिएन
बरु सपनाहरू मर्दै गए
मालाहरू सुके
कस्तो अचम्म कि फेरिएन केही पनि
मात्र ऊ फेरियो
र हिजोको नायक आज खलनायक बन्यो ।