गणेश तामाङ

अग्रगामी छलाङ मारेको मेरो देश

जहाँ म बाँचिरहेछु, वर्तमानमा

मेरा देशवासीहरू, जो राष्ट्रियता खोजिरहेका छन् ।

आश्वासनका मिठा सपनाले अघाएका

अरूले देखाएको सपनामा मग्न

कठै !

हामी देशवासी

बाँदर झुन्डिने भीरहरूमा रेल चलेको देख्दै छौँ ।

समृद्धिका मीठा कल्पनामा रमाएका छौँ ।

जहाँको गल्ली-गल्लीमा दार्शनिकहरूको घुइँचो छ

विश्लेषकको कमी छैन यहाँ

मानौँ,

उसले निलेको छ सारा विश्व इतिहास र सर्वदर्शन

साक्षी हो ऊ इतिहासको र दर्शनको

समाजवाद र साम्यवादको मिठो गफ चुट्दै

करोडौँको गाडीमा साइरन बजाउँदै हिँड्ने

सर्वहाराको प्रतिनिधि देख्दा लाग्छ,

देशले त काँचुली फेरेछ ।

बाढीमा डुबेका, पहिरोमा पुरिएका

कर तिरी गाडि चढाउन, भोट जिताउने जनताको लास हेर्न

हेली चढेर आकाशमा घुमेका दयालु नेता देख्दा

लाग्छ,

सर्वहाराको शासकले ठूलै छलाङ मारेछ ।

महामारीमा पनि सत्ताको जोडघटाउ

भ्रष्टचारमा लिप्त

साम्यवादी र समाजवादी शासकहरू देख्दा लाग्छ,

मेरा हातले के जाति चिह्नमा किन छाप लगाएछ

छिमेकी गाली गर्दै कट्टर राष्ट्रवादी बनेका

करोडौँ खाएर भ्रष्टचार विरोधी बनेको देख्दा

उदेक लाग्छ ।

राष्ट्रवादको प्रचारवाजी देखावटी रूप

भत्केको राजमार्ग हजारौँ झुट

समाजवादको दह्रो अभ्यास, जनतालाई करमाथि कर

सबैलाई लुटी खाने, गाउँगाउँ सिंह दरबार

सिद्राझैँ सुकेका जनतालाई अझ चुस्ने

स्याबास नेपाल सरकार