डा. मुकुन्द पथिक

चन्द्रमा भएर मसँग आई
जाँदा ज्वालामुखी भएर गई
आउँदा हौसला बोकेर आई
जाँदा सबै कुरा बढारी गई ।

फूलको थुँगा भएर आई
दिनसम्म धोका दिएर गई
जिन्दगी सजाऊँ भनेर आई
चारैतिर उजाड पारेर गई ।

बनाऊँ दरबार भनेर आई
अन्त्यमा तरबार चलाएर गइ
मेहनत गरी कमाऊँ भन्थी
घमन्ड चढ्यो कसलाई के गन्थी ।

परिश्रम गरी पसिना धारा
जोडेर कति सम्पत्ति सारा
जुटाई धेरै गहनाको भारी
सम्हाली नसक्नु महँगा सारी ।

म हुँ नि तिम्रै भनेर आई
सपना सारा चुँडाएर गई
प्रेमको कसम खाएर आई
ज्युँदै खरानी बनाएर गई ।

मुटुमै बस्छु भनेर आई
आगो मुटुमा बालेर गई
सँगै बाचौँ मरौँ भनेर आई
मर्नु न बाँच्नु पारेर गई ।

००००