अब कसले गाउछ गीतहरू ?
किनभने आजभोलि
स्वरमा प्राण छैन
सुमधुर मिठास छैन
आतङ्कित छन स्वरहरू
त्यसैले लरबराइरहेछन् हरेक शब्दसँगै
अब कसले लेख्छ गीतहरू ?
शब्दमा कुनै जोस छैन
शब्दहरू केवल शब्द छन् भावनाविहीन
भयभीत छन् शब्दहरू
त्यसैले त डगमगाइरहेछन् क्षण-क्षणमा
युगान्तकारी परिवर्तन गर्ने कलमहरू
निःशब्द र मौन छन् ।
कसले भर्छ सङ्गीत अब ?
आफ्नोपनको हार्दिकता छुटेपछि
सारङ्गीको तार छिन्नभिन्न भई टुटेपछि
शान्तिप्रिय सङ्गीत घन्किने पाखाहरू
कालो बादलभित्र लुकेपछि
त्यसैले रोइरहेछ सङ्गीत
गाउँबेँसीका पाखाहरूमा
शोकधुन र अबिरल अश्रुधारा
बगिरहेछन् आँखाहरूमा
बितिरहेछन् पल क्षण अनि दिनहरू
समयको प्रवाहसँगै बितिरहेछन्
तर किन हो कुन्नि गति छैन जीवनमा
कुनै खुसी उमङ्ग र उत्साह छैन मनमा
स्वच्छन्द आकाशमा पखेटा फिँजाई उड्न खोज्ने यो मन कुण्ठित छ, दुःखित र हरपल पीडित छ
उडिरहेछ जीवन धुवाँको मुस्लोसँगै बारुदमा
कावा खाँदै उड्ने सेता परेवाहरू
कता हराए होलान् कतै देखिँदैनन् आकाशमा
अब कसले गाउँछ गीतहरू ?
अब कसले भर्छ सङ्गीतहरू ?
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला