रवि सुवेदी

बाँसुरी वनभरी बजाउनू
खेल्नु चल्नु अनि लौ सताउनू ।
चोर्नु फोर्नु पनि गर्छु भन्नु ल
प्रेममूर्ति! अब बाल बन्नु ल ।।१।।

ठुस्कँदै दिनभरी सताउनू
झूट सत्यसरि नै बताउनू ।
जान्न जान्न म त जान्न भन्नु ल
प्रेममूर्ति! अब बाल बन्नु ल ।।२।।

कट्टि बोल्दिनँ भनी रिसाउनू
टास्सिँदै मुटुसँगै निदाउनू ।
खान्न खान्न म त खान्न भन्नु ल
प्रेममूर्ति! अब बाल बन्नु ल ।।३।।

लौ सुनाउनु कथा थरी-थरी
सम्झिँदै मनमनै घरी-घरी ।
हिँड्न डुल्न मन छैन भन्नु ल
प्रेममूर्ति! अब बाल बन्नु ल ।।४।।

चोर्न वस्तु नमिले हतासिनू
चन्चले पवनझैँ बतासिनू ।
प्रेमसौरभ म छर्छु भन्नु ल
प्रेममूर्ति! अब बाल बन्नु ल ।।५।।