१.
हातै काट्यो दोकाने चुराले,
माया बस्यो नशालु कुराले।
२.
मल नहाली फल त्यसै फल्दैन,
धोका नखाई मन पनि जल्दैन।
३.
टेक लौरी, पाल है चौँरी भीरमा दौडी,
गए पनि आउँछ फेरि नछोड कौडी ।
४.
नराम्री नि खोलाले बगायो,
राम्री पनि अर्कैले भगायो ।
५.
खुट्टा घोच्यो जङ्गली काँडाले,
छेक्यो आँखा यही पापी डाँडाले ।
६.
आउँछ जान्छ सम्झना बिर्सना
लगाऊ मायाँ मेटिन्छ तिर्सना ।
७.
रस चुस्ने भमरो उडेन,
धुलो बाटो गाडी पो गुडेन ।
८.
तिम्रो याद उडायो हावाले,
मुटु काम्छ ब्याज र साँवाले ।
९.
जवान छोरी चोरेको डाँकाले,
कथा गर्थे बुढा र पाकाले ।
१०.
चिसो चुल्हो आगो पो बलेन,
ए निष्ठुरी मुटु नै चलेन ।
११.
विनामादल गीत म गाउँदिनँ,
पोइला जान्छु फर्केर आउँदिनँ ।
१२.
कस्तो मायाँ मन मात्रै बिझाउने,
मायाँ गर्छु भन्दा त झन् रिसाउने ।
१३.
उर्ल्यो खोला बाढी नै आयो,
विदेशीले पो मायाँ लायो ।
१४.
आकाश हेर्दा बादलले छेकेको,
दिलको घाउ खै तिमीले देखेको ।
१५.
राम्री भएर बजारमा डुलेकी ,
भमराझैँ तनमनमा भुलेकी ।
१६.
पैसा दिए खनखनी गनेर,
मायाँ गरे मन मिल्छ भनेर ।
१७.
भएको खेत पहिराले बगायो,
नानी पाउन दसचोटि लगायो ।
१८.
भन्यौ भने तारा नै झारुँला,
नत्र फेरि अप्ठ्यारो पारुँला ।
१९.
भर छैन चुरोट खानेको,
जित हुन्छ खोसेर लानेको ।
२०.
के विश्वास र हुर्केकी छोरीको,
थर्कमान छ नक्कली मोरीको ।
२१.
छैन आज चुल्हो पनि सल्केको ,
सधैँ राति भेट्नलाई पल्केको ।
२२.
प्रेमविनाको संसारै मधुरो,
यादले गर्दा जिन्दगी अधुरो ।
२३.
जसले मायाँ गर्नलाई सिकायो,
उसले यादमा जिन्दगी बितायो ।
२४.
गोप्य कुरा कसैले भन्दैन,
विनाकाल जिन्दगी ढल्दैन ।
२५.
खरानीले दिल मेरो भरेको ,
निष्ठुरी नै किन मन परेको ।
२६.
मर्ने चोला थाम्दैन मायाँले ,
चिसो पार्नु बरको छायाले ।
२७.
दु:ख गर्नु कोदालो खनेर,
रुन्छ मन के गर्नु भनेर ।
२८.
सम्झेँ पैसा बाटामै खसेको,
तिमीसँग एकान्त बसेको ।
२९.
घाउ बाँधे मलम पट्टीले ,
मायाँ लायो रक्सीको भट्टीले ।
३०.
यति राम्रो जवानी फुलेको ,
मायाँ गर्न किन हो भुलेको ।
३१.
यादमा सधैँ नबस्नू अल्झेर,
गाँठो पर्ला बेस्सरी बल्झेर ।
३२.
धेरै हिँडेँ उकालीओराली ,
कति गर्नु कुटो र कोदाली।
३३.
मायाँ गर्न खोज्दै छ आँखाले,
लठ्ठ परेँ झ्याउरे भाकाले।
३४.
छेउमा आउँदा किन हो तर्केको,
बर्सौँ भएछ तिमीलाई पर्खेको ।
३५.
तिम्रो दिल सिसा झैँ फुटेको ,
कस्तो लाग्छ जवानी लुटेको ।
३६.
तिम्रो यादमा सधैँ म अल्झेको,
पोइला जान्छ्यौ भनेर सम्झेको ।
३७.
हत्ते गर्दा पाइँदैन देखेको,
पाउँछौ थाप भाग्यमा लेखेको ।
३८.
यति धेरै खै किन सम्झेको,
धोका हुने कुरामा अल्झेको ।
३९.
भिरको बाटो खुट्टाले टेकेको,
चढे जहाज भाग्यले लेखेको ।
४०.
मायाँ गर्दा म मान्दै मान्दिनँ,
रोए पनि प्यारो त ठान्दिनँ ।
४१.
कहिले पनि भाँजो म हाल्दिनँ,
तिम्रो दिलमा आगो त बाल्दिनँ ।
४२.
कति रुनु कौसीमा बसेर,
मनभरि वेदना रचेर ।
४३.
लामो बाटो भनेर पर्खेको,
हिँडेपछि खुट्टा पो मर्केको ।
४४.
देखे अनि सुटुक्कै फर्केको,
तिमी रुँदा मुटु नै चर्केको ।
४५.
गुन्द्रुक, सिङ्की खाल्डामा खाँदेको,
टोक्ने कुकुर साङ्लाले बाँधेको ।
४६.
तिम्रो बिहेमा परेवा काटेको,
मिठो भयो कराही नै चाटेको ।
४७.
काक्रो फल्यो भीरमा झुन्डेर,
आगो फुक्नु चुल्होमा मुन्टेर ।
४८.
कति साह्रो सम्झिँदै रोएको ,
दुख्यो मन मायाँले छोएको ।
४९.
बिच बाटामा अबेर नपार,
निधारबाट पसिना नझार ।
५०.
शोभा दिन्छ फुलेको फूलले,
रुन्छ मन गरेको भूलले ।
५१.
रुन्छ मन तिमीलाई सम्झेर,
पागल भएँ यादमा अल्झेर ।
५२.
हुन्छ मायाँ मनमा बसेको,
खै त साथी कम्मर कसेको ।
५३.
मनको कुरा नभन्नु कसरी ,
रुन्छ मन सम्झिँदा धरधरी ।
५४.
शीतल भयो पिपलु छायाले,
सम्झिँदा त मन रुन्छ मायाँले ।
५५.
बिर्सूँ भन्छु याद आउँछ परीको,
कस्तो मायाँ हो यो जिन्दगीभरिको।
५६.
याद आयो मलाई पाखामा खेलेको,
बस्तु ,बाख्रा सधैँ जङ्गलमा हेरेको।
५७.
सत्य हुन्न रैछ आँखाले देखेको,
भोग्नुपर्छ पक्कै कर्ममा लेखेको।
५८.
भर छैन मान्छेको आयुको,
जान्छ आस नगर्नु वायुको।
५९.
वीरको छोरो नामर्द हुँदैन ,
झ्याउँरी केटी सम्झेर रुँदैन।
६०.
गाह्राे छ साथी तरुनीको मन छुन,
झन् साह्रो रे जिन्दगीमा प्यारो हुन ।
६१.
नमान्नेलाई के मायाँ बर्साउनु,
भूतले जस्तो गरेर तर्साउनु।
६२.
अब मलाई सम्झिनु पर्दैन ,
तिमीविना यो जिन्दगी मर्दैन ।
६३.
बग्यो खोला सलल गरेर,
कस्तो दुःख नजाने टरेर ।
६४.
आँसु झर्दा बररर कस्ले पुछिदेला,
मेरो दुःख पीडा पनि दैव बुझिदेला !
६५.
लुगा सिए सियो र धागाले,
वन खायो सल्केको आगाले ।
६६.
तिम्रो पछ्यौरी त्यो जङ्गली काँडामा अल्झेकाे,
त्यही देखेर मलाई तिम्रो मायाँ बल्झेकाे।
६७.
यादमा मात्रै बाँचेर हुँदैन ,
बटुवाले बाटो पनि कुर्दैन ।
६८.
छोटो, मिठो जिन्दगी हुनेको,
भन्दा दु:ख सम्झेर रुनेको ।
६९.
दिल बस्यो गाजलु आँखामा,
खुसी जाग्यो सुरिलो भाकामा ।
७०.
हामी भेट्ने भन कुन एकान्त,
बिछोड हुने कस्तो हो लेखान्त ।
७१.
उतारचढाव भए पनि अँगालू,
मनलाई बुझ्ने कोही भए दयालु
७२.
जति खुसी भयौ बेहुली भएर अन्मिँदा,
त्यति गदगद हुन थाल्यौ नानी जन्मिँदा।
७३.
रुन थाल्यौ हरे म बाटो तर्किँदा,
जीवन बित्याे तिमीलाई पर्खिँदा ।
७४.
देशको मायाँ मैले नै हो गरेको ,
गीत गाउने छैन रहर मरेको ।
७५.
तिम्रो याद झलझली आउँदै छ,
मलाई मायाँ अर्कैले लाउँदै छ।
७६.
झिलिमिली छ आकाशका ताराको,
तिम्रो जस्तो खुसी हुँदैन साराको।
७७.
पानी मात्र बुझ्दा खाँदैन आगाले ,
आफूसँग भैँसी लाँदैन राँगाले।
७८.
लेखान्त जे छ नभोगी टर्दैन,
नमरी कोही चितामा जल्दैन ।
७९.
आफ्नो खाल्डो आफैँले हो खनेको,
अबर पर्दा खै मलाई भनेको।
८०.
टाढा भए छँदै छ सम्झना,
नबस्नु है गरेर कल्पना ।
८१.
भीरमाथि अरिङ्गाल घुम्दै छ,
मेरो प्यारो मनभित्र डुल्दै छ।
८२.
चम्किए तारा अँधेरी रातमा ,
जुनेली रात मायालु साथमा ।
८३.
आयो मलाई सम्झना सानीको,
मुटुमा चोट दिएर जानीको ।
……..
…….
८७.
निष्ठुरीलाई खै मायाँ लागेको,
बोल्नुपर्छ भनेर झन् भागेको।
८८.
कसम खाऊँ भन्दा नि खाँदैन,
छुट्टिऊँ भन्दा पनि ऊ मान्दैन।
८९.
आँसु झर्छ बरर सम्झिँदा,
यस्तै हुन्छ मायाँमा अल्झिँदा।
९०.
छैन मेरो ढुकढुकी चलेको ,
हैरान भएँ सम्झिँदा गलेको।
९१.
साँपले डस्छ नसिबमा लेखेर,
आउँछ राँगो भैँसीलाई देखेर।
९२.
रुन्थे कति तरुनी साँझमा,
हुन्थे सधैँ साथीको माझमा ।
९३.
भट्टीभरि मायालु साथमा ,
जान्नँ म त अँधेरी रातमा।
९४.
हुने भए आँखाले देखेको,
के अर्थ र भावीले लेखेको ।
९५.
आफ्नो मृत्यु पैसाले टर्दैन,
भएर पनि जिन्दगी चल्दैन।
९६.
छिटो मिठो भन म के गरूँ,
तिम्रो भर परूँ या नपरूँ।
९७.
जति रोए पनि ऊ देख्दैन ,
तिघ्रे मोरो चिठ्ठी नै लेख्दैन।
९८.
आफू बाँच्नू अरूलाई नमारी ,
कसिङ्गर हो आँखामा नपारी।
९९.
उड्यो चरी आकाशमा फरर,
आउँछ बुढो गाडीमा सरर।
१००.
पहिरो गयो साउने झरीले,
मलाई छोडी उडेकी चरीले।
१०१.
ज्यानको बाजी लाउन जान्दिनँ,
पर्खे पनि म आउँछु भन्दिनँ।
१०२.
जताततै चमेली फुलेको ,
यति राति के भन्न कुरेको।
१०३.
निद्रा मिठो अँधेरी रातको,
कस्तो आशा छोरीको जातको।
१०४.
सम्भव भए म फेरि आउनेछु,
दोभान तरि तिम्रैमा धाउनेछु।
१०५.
बस्यो मायाँ सिमाली गेटमा ,
छुट्न साह्रो बच्चो छ पेटमा।
१०६.
भन्नेले त जे भन्दा भइहाल्छ,
छोड्नेले पो छोडेर गइहाल्छ।
१०७.
आँखाभरि गाजलु परेली,
फूल पनि मायाँकाे तरेली।
१०८.
सासभरि मायाँ म गरुँला,
मरे पनि स्वर्गैमा परुँला।
हिलिहाङ -२, सिंहपुर पाँचथर
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।