मनिराम कडेल

सानो लाग्छ आजभोलि
यी अमानवहरूको भिड देख्दा
यही संसार पनि साँघुरो लाग्छ
कैयौँ सपनाहरू कुल्चिदिएको छ यो भिडले
हिसाबकिताब कहिल्यै भएन
कलियुगका दुःशासनहरूले
चीरहरण मात्रै गरेनन्
कलिला नानीहरूको
युग-युगसम्म नहट्ने
नमीठो दुर्गन्ध छाडI
प्राणसमेत हरेर लगे
आमाको हातमा पर्छ केवल
केवल रगत लतपतिएको
र च्यात्तिएको फ्रकसहित
पुत्रीवियोगको असह्य
पीडा र वेदनाहरू

यो सरकार देख्दादेख्दै पनि
दृष्टिहीन धृतराष्ट्रले जस्तो गरिरहेछ
कैयौँ न्यायमूर्तिहरू
भीष्म र विदुरको जस्तो
नियति भोगिरहेछन्
यी नपुंसक शासकहरूले
कहिले पो बुझ्न सक्लान् र!
कलिला कुमारीहरूको
इज्जत लुटिएको
कहिले पो बुझ्न सक्लान् र!(२)

कुमारीत्वलाई बन्द कोठाभित्र
डबल मूल्यमा किन्न सक्छु भन्ने
विकृति मानसिकताले गाँजिएका
यी मानसिक रोगीहरूले
कसरी पो न्याय दिलाउन सक्लान् र!
कसरी निसाफ दिलाउन सक्लान् र!
उखु बारीमा फ्याँकिएका निर्मलाहरूलाई
कसले उठाउँछ
आखिर कसले सजाउँछ
मिचेर र कुल्चेर
मिल्काइएका अस्तित्वहीन कोपिलाहरू।

                        बाग्लुङ