संसारमा बाका बारेमा थोरै कविता लेखिएका छन् । तीमध्ये, छोटो भएर पनि मर्मस्पर्शी भएका कारण यो कविता विश्वभरि पढिन्छ ।

===============

रोबर्ट हेइडेन, अमेरिका

आइतबार पनि, मेरो बुवा चाँडै उठ्नुहुन्थ्यो
र सङ्लिन बाँकी नीलो–कालो अँध्यारोमा लुगा लगाउनुहुन्थ्यो
साताभरिका अन्य दिनहरूको प्रतिकूल मौसममा
उहाँले गरेको मदजुरीबाट चर्चरी फुटेर दुखिरहने हत्केलाले
आगो जोड्नुहुन्थ्यो ।
तर कसैले देख्दैनथ्यो उहाँको गुन ।

म उठ्थेँ, र सुन्थेँ ठिही चोइटिरहेको, फुटिरहेको ।

जब भान्सा कोठा न्यानो हुन्थ्यो, उहाँ मलाई बोलाउनुहुन्थ्यो
म सुस्तरी उठ्थेँ, र लुगा लगाउथेँ
डराउँदै त्यस घरको दीर्घ आक्रोशसँग
जो बेवास्ताको भाषा बोल्थ्यो मेरो बुवाप्रति
जसले अँध्यारो भगाउनुहुन्थ्यो
र मेरा मन्दिर जाने जुत्तामा पालिस लगाएर चिटिक्क पारिदिनुहुन्थ्यो ।

त्यसबेला, मलाई के थाहा, साँच्चै के थाहा —
मायाको पवित्र तर एक्लो स्वभाव कस्तो हुन्छ भनेर !

[Those Winter Sundays को भावानुवादः महेश पौड्याल]