मनिराम कडेल

सानो लाग्छ आजभोलि
यी अमानवहरूको भिड देख्दा
यही संसार पनि साँघुरो लाग्छ
कैयौँ सपनाहरू कुल्चिदिएको छ यो भिडले
हिसाबकिताब कहिल्यै भएन
कलियुगका दुःशासनहरूले
चीरहरण मात्रै गरेनन्
कलिला नानीहरूको
युग युग सम्म नहट्ने
नमीठो दुर्गन्ध छाडि
प्राण समेत हरेर लगे
आमाको हातमा पर्छ केवल
केवल रगत लत्पतिएको
र च्यात्तिएको फ्रक
सहित पुत्री वियोगको असह्य
पीडा र वेदनाहरू

यो सरकार देख्दादेख्दै पनि
दृष्टिहीन धृतराष्ट्रले जस्तो गरिरहेछ
कैयौँ न्याय मूर्तिहरू
भीष्म र विदुरको जस्तो
नियति भोगिरहेछन्
यी नपुंसक शासकहरूले
कहिले पो बुझ्न सक्लान् र!
कलिला कुमारीहरूको
इज्जत लुटिएको
कहिले पो बुझ्न सक्लान् र!(२)

कुमारीत्वलाई बन्द कोठाभित्र
डबल मुल्यमा किन्न सक्छु भन्ने
विकृति मानसिकताले गाँजिएका
यी मानसिक रोगीहरूले
कसरी पो न्याय दिलाउन सक्लान् र!
कसरी निसाफ दिलाउन सक्लान् र!
उखु बारीमा फ्याँकिएका निर्मलाहरूलाई
कसले उठाउछ
आखिर कसले सजाउछ
मिचेर र कुल्चेर
मिल्काइएका अस्तित्वहीन कोपिलाहरू।

                           बाग्लुङ