यो हो देश हिमाल र पर्वत जहाँ हिऊँ सधैँ झुल्दछन्  !
पाखामा फूल फुल्दछन् जहीँतहीँ बास्ना खुबै छर्दछन् !
नेपाली जनको अपार धन हो यो देश हो जलको धनी।
यो हो रत्नै सरिको अमूल्य निधि पो ,दिन्न म बस्छु रमी।।

शोभा दिव्य धरा हो प्राण सरिको, नेपालीको जीवन!
लैजाऊ बरु प्राण दिन्छु सहजै भो दिन्न भूमि छुन!!
सीमा सानो छ मेरो यो बगरको  माटो अमूल्य हिरा !
दिन सक्दिनँ लौ चिमोटी म भूमि पारेर यस्को चिरा !!

शोभा खतिवडा

माग्छौ लौ शिर यो झुकाई म बरु यस भूमिमा आखिर !
चढ्न लौ छु तयार म  बलि पनि यस देशका खातिर !!
यो हो देवभूमि यस विश्वभरमा छैन है मूल्य कुनै!
यस्का खातिरमा छिनाई बरु लौ दिन्छौ तीनकोटी शिरै

माटामा नदी कलकल बगिकन, सिञ्चन जलैले गरी !
धर्तीका मुखमा दिई खुसी खुबै, नाचेकी हुन झैँ परी !!
पाखा, पर्वत र तराई   बनमा सञ्जीवनी  फल्दछन्!
देशका काखभरि खनिज कति छन् कुबेर नै बस्दछन्!!

धर्तीबाट बगी कति हिम नदी देश उर्वरा पार्दछन् !
झर्ना कलकल बग्दछन् जहीँतहीँ, भूमि सबै रम्दछन् !
कस्तूरी मृग सावक हरघडी हिमालमा खेल्दछन् !
चौरीखर्क अनि ती लेकहरूमा पङ्ख डोलाउँदछन् !!

लस्कर शैल सबै यिनै धरणीको हरपल सुरक्षा गरी !
मानवका हित खातिरै भनीकन यो देव भूमिमा झरी !
सूर्यको जब ज्योति पर्छ भूमिमा, हिमाल मुस्काउँछिन्!
चन्द्रैको नवकान्ति छाई धरणी शोभा दिई हाँस्दछिन !!

खै तिम्रो भूमिको न लोभ छ कति सानै भूमिमा रमौ!
स्वर्गै लाग्दछ यो धरा हरबखत यहीँ नै म बाँचौँ मरौँ !!
मेचीको जलमा नुहाई शिर यो काली पुगौँ मन धुन!
यस्तो पावन यो भूमि अलिकति दिन्न तिमीलाई छुन !

आऊ हेर्न र घुम्न यो शिव भूमि हिमाल हेरीकन !
शान्तिका दूतको यो जन्म भूमिमा गर्नू बसी प्रार्थना !!
नेपाली मनका अपार धनी छन, कुवेरझैँ छ मन !’
भूमि सानो छ मेरो यो जगत्‌मा अनमोल रत्न धन !!

शोभा