ओछ्यान

जब रात मस्त निदाउँछ
लाटोकोसेरो ब्युँझन्छ
सुनिदैन कुनै घरबाट
बलात्कृत धुन
तर बलात्कारका लागि
ओछ्यान बन्छिन्
छोरी, भाउजू, बुहारी ।

 

मृत्यु

दुई मिटर सेतो कफन
केही फूल, माला, प्रसादी
आठ फिटे हरियो खट
तातो खरानी या माटोको खाल्डो
आजैदेखि यो जगत्बाट हट् !

 

परीक्षा

प्रत्येक प्रहरको परीक्षा
प्रत्येक पलको कक्षा
कति लिन्छौ लिइराख
अब पीडाको पोखरी र
चिसा मान्छेहरू छिमल्दै
ब्युँताउँछु म एउटा ‘जगजगी समय’
र उत्रन्छु पूरै फाइनल परीक्षा !

 

लुङ्गी

प्रत्येक बिहान ब्युँझदा
सिर्रर सिरेटोसँग
जुखुरो परेर उडिरहेको सिमल कपाल
हातमा फूलको डाली
मगमगिरहेको लुङ्गीको वासना
मेरा हरेक दिनको स्वागतमा
लागिरहने, बिछोडिने र भक्कानिने
एउटा तिखो तिर्सना
आमाको लुङ्गी !

 

समय

ओहो ! तिमी भएरै म छु
म छु र त तिम्रो महसुस गर्छु
नभए तिम्रो मैले र मेरो तिमीले
कुन आवरणाले, कुन अवधिले
हाम्रो सामीप्यको मापन गर्थ्यो होला ?
ए समय ! भनिदेऊ न
यी शब्द पनि त तिम्रै लागि हुन् ।