म पहाडबूढो
टेकेर इन्द्रेनीको लौरो
हिँडिरहेछु काँडैकाँडाको यात्रा !

शशी लुमुम्बू

कहाली लाग्ने भुत्याहा पहरा
बाँदर लड्ने तीनतले भीर
सत्तीबयरको झ्याँङमा चैते मध्याह्न
समाउँदै बाबियोका बुटा
थर्रर काँप्दै बेनाम भयले
चढिरहेछु खुर्खुरे डाँडैडाँडा
ताकेर कुनै कुनाली बस्ती !

निस्किएर –
रूखका टोड्काहरूबाट
भर्खरै –
अज्ञात दिशातर्फ बेगिए
यही युगका सुत्केरी सुगाहरू !

म पहाडबूढो
भुइँभरि खसेका
सालका मृत पातहरू कुल्चँदै
हिँडिरहेछु –
स¥याङ्स¥याङ्
वनको कुनै तस्करजस्तो !

किंवदन्तीजस्ता प्रेमकथाहरू
सुनाउँदै आएँ वरपीपललाई
फलैँचामै छोडेर थकानहरू
पाइलैपिच्छे जुझ्दै आएँ चट्टानसित !

मेरो शरीरबाट
पसिनाको नदी बग्यो
मेरो आँखाबाट
कलकलाउँदो चन्द्रमा जन्म्यो !

थाकेँजस्तो लाग्छ अब त
तर, थाकेको छैन
गलेँजस्तो लाग्छ अब त
तर गलेको छैन !

निःसन्देह –
पुग्नु छ मैले ती गाउँहरूमा
– ब्यूँझाउन सुतिरहेका मानिसहरू
– रोप्न इन्द्रेनीका बीउहरू !

म पहाडबूढो
टेकेर इन्द्रेनीको लौरो
हिँडिरहेछु काँडैकाँडाको यात्रा !!!
०००