जुन भाषामा कविता लेखिरहेछु म
बुझ्दैन यो भाषा तालीबानले
बिन्ती कसैले सुनाइदिनू उसलाई उसैको भाषामा
बुद्धको देशको एक बबुरो गर्न चाहान्छ प्रश्न-
तालीबान! ओ, तालीबान!
किन कैद गर्न खोज्छस् आफ्नै आमालाई?
किन झम्टिँदै छस् आफ्नै चेलीहरूलाई?
के सोचेर छोप्न खोज्छस् ज्ञानहरू?
कुन हृदयले ताक्छस् निर्दोष छातीहरू?

अविनाश भट्टराई

तालीबान! ओ, तालीबान!
के ठान्छस्? बन्दुक बोकेपछि तथ्यहरू लुक्न सक्छन्?
के ठान्छस्? सत्यहरू लुगलुग काम्न सक्छन्?
याद राख्, बन्दुकको त्रास र खुनको न्यानो केही छिनलाई मात्र हो
आज बन्दुकलाई त्रासको प्रतीक मानेर मात्र कविता लेख्न मन थिएन

बरु मन थियो परिवर्तनको प्रतीक मानेर कविता लेख्न
बरु मन थियो अग्रगमनको विम्ब राखेर कविता लेख्न

तालीबान! ओ, तालीबान!
नयाँ समयको यस्तो थोत्रो मोडमा आएर उभ्याइदिइस् कि
बन्दुक सुन्नेबित्तिकै तालीबान सम्झन्छु
तालीबान भन्नेबित्तिकै त्रास सम्झन्छु
म कहाँ छु?
अरे, म कहाँ छु?
कसैले मलाई पानी छम्किदेऊ
होइन, होइन तालीबानलाई छम्किदेऊ
निस्सासिने गरी चिसो पानी खन्याइदेऊ
र भनिदेऊ-
बन्दुकभन्दा पनि बलियो चिज संसारमा
अरू नै आइसकेको छ ।।