यहाँ नारी

जताततै उपनिवेशिक राज्यको रानीजस्तो

कलम कपी दिने तर लेख्ने अधिकार नदिने

न डुङ्गाजस्तो न फूलको थुँगाजस्तो

सजातीयको मितियारजस्तो

नारीले जताबाट हेरे पनि त्यो जुँगा

कोप्ने र चिथोर्ने हतियारजस्तो

पुरुषका लामा जुँगाले छेकिन्छ उनको बोली

र त दिनभर काम गरेर साँझ घर फर्केर

लाग्छिन् भान्साको काममा नबोली नबोली ।

ठुलो ममी!!

रमेश आचार्य

त्यसैले मलाई ती जुँगाहरू प्रति

कैँचीको भाषा बोल्न मन छ ।

जताततै पुरुषकै कथा बुनिन्छ

यहाँ म्यारी ओलस्टोनक्र्याफको भन्दा

मार्टिन र गान्धीकै नाम बढी सुनिन्छ ।

समान काम गरेर

समान ज्याला दिनुपर्छ भन्ने कुरा

यो समाज जान्दैन

यसबारे उनी बोल्दिनन् अनि उनका लागि

कोही बोलिदिँदैनन् ।

काकी !!

त्यसैले मलाई सत्ययुगदेखि आजको कालसम्म

नारीलाई सङ्कुचित बनाउन

विभेदका इँटाले बनाएको पुरुषवादी पर्खाल

भत्काउन मन छ ।

मक्ख पार्न पढे लेखेको एउटा दुष्ट लेख्छ

‘पतिव्रता त मर्दैनन् दुष्टै पति भए पनि’

अनि

सहन्छिन्,

दुष्ट छ पति जानेर

एउटा ज्यानलाई नै पतिपत्नी दुवै मानेर

सकल घर, एकल धानेर।

दिदी!!

त्यसैले मलाई दुष्टहरू मन पर्दैन।

विवाह

विवाह

एक रथका समान दुई पाङ्ग्रा बन्नु

भन्ने सहमति पत्र हो

तर

नारीलाई दास बनाऊ

र चाहेका बेला बलात्कार गर भनेर

दिएको अनुमतिपत्र हैन ।

भाउजू !!

त्यसैले मलाई विद्रोह मन पर्छ ।

विवाह

विवाह

मानवसमाजको सुन्दर सृजना हो

महिला हेपिए चेपिएपछि मात्र पूर्ण हुने

यो कस्तो पुरुषको मात्रै हितको सभ्यता हो ?

आमा!!

त्यसैले मलाई पुरुष केन्द्रित

धर्म, परम्परा, कानुनका परिभाषाहरू मन पर्दैन ।

आधा क्षेत्र ओगटेर पनि

लिङ्गको आकार बाहिर भएका

स्तनको आकार भित्र भएका

मान्छेहरूको मात्रै पूरै क्षेत्रमा मनोमानी ।

हुन्छ भनिन् भने रानी नत्र एसिडले खरानी??

बहिनी !!

त्यसैले मलाई यिनीहरूलाई

नाइँ र हुन्न को अर्थ

स्पष्ट अस्वीकार हो

इन्कार हो

हुँदै हुँदैन हो भनेर

प्याडको मसीले उनीहरूकै भाषामा पढाउनु छ ।

एकहुल पुरुष मनोवैज्ञानिकहरूले चोकमा

बलात्कार गर्न पाउनुपर्छ भन्ने नारा लाउँछन्

अर्का हुल सामाजिक सञ्जालमा

‘बलात्कारी सङ्गठन’ को गाना गाउँछन्

ए हुलियाहरू!! कुन धाराको पानी खान्छौ??

आऊ कुवाको पानी खाऊ ।

नानी!!

त्यसैले मभित्रको नारी जाग्छ

र हरेक पुरुष सम्भावित बलात्कारी हो जस्तो लाग्छ ।

बहादुरीको उपनाम पाएका

बहादुरसँग सरकार पनि बहादुरी गर्दै

बरु कुमारीलाई नै बारम्बार मारिरहन्छ

बरु कुमारीलाई नै बारम्बार कु गरिरहन्छ।

चाहे त्यो काठमाडौँमा बाउले छोरीलाई

चाहे त्यो कञ्चनपुरमा कालेले गोरीलाई

जङ्गल होस् या घर होस्।

छोरी !!

त्यसैले मलाई कसैको पनि विश्वास लाग्दैन ।

उनका खुसी र रस रङ्गहरूमा

घर खेत बारी

चोक वरपर अफिस

जताततै तिखा र बलात्कारी नजर

ठोक्किन्छन् उनका लामा छोटा लुगा र प्रत्येक अङ्गहरूमा

ए मासुका माखाहरू!!

आऊ कुवाको पानीले सफा गर तिम्रा आँखाहरू।

अस्मी !!

त्यसैले मलाई बाहिरी लिङ्ग मन पर्दैन।