विजय संग्रौला

रातको अन्धकारमा पनि जसरी प्रकाश
अप्रकट रूपमा रहिरहेको हुन्छ
त्यसरी नै मेरो अचेत अवस्थामा पनि
अन्तस्करणमा प्रेम प्रार्थना गुन्जिरहन्छ
निरन्तर एउटा पुकार उठिरहन्छ
यो जीवन तिमीलाई अर्पण गरेँ है
मेरो जीवन स्वामी !
हृदय तिम्रो चरणमा समर्पित गरेँ है ।

प्रियतम !
मलाई माफ गरिदेऊ
तिम्रो चाहमा बित्नुपर्ने समय
वृथा नाश भयो
मोह र मायाको उल्झनमा परेर ।

संसारी दौडको म अथक धावक
हृदयको दरिद्रता मेटाउन
वासना र मायाँलाई पावन प्रेम सम्झी
क्षुद्र वृथाभिमानमा दौडिरहेँ
व्यर्थ आँसु र पीडामा रुमल्लिरहेँ
लहरिरहेँ क्षणिक भोग र वियोगको आवेगमा ।

हे प्रिय सखा !
तिमीले आफूले आफूलाई
जो मेरो आँखापछाडि लुकायौ
सांसारिक मायाँ जालले भ्रमित आर्त म
वेदनाको शिखर टेकी विलाप गाउँदै
आत्माभिमान शून्य भएर आँखा चिम्लँदा
अन्ततः मेरो आर्तनाद सुनी
अन्तस्करणमा प्रेमाभिसारका लागि बोलायौ
प्रेमानन्दले पुलकित म संसार बिर्सिएर
तिम्रो प्रेममा बिस्तारै विलीन हुँदै छु ।

प्रेमवश भएर तिमी पो ममा अर्पित हुँदै छौ
अनि ममा नै आफ्नो परमानन्दको अनुभव गर्दै छौ
पल विपल मलाई बोध भइरहेछ
हे करुणानिधान !
संसारको भीडमा म जति हराए पनि
हृदयमा तिमीलाई कहिल्यै नराखे पनि
तिम्रो अनन्त प्रेम त अहर्निश
मेरो प्रेमको प्रतीक्षामा पो हुँदो रहेछ !!

मे.न.पा.-१२, झापा