नारायण मरासिनी

लाखौँ साथ जुटेर रातदिनमा यौटै लिई चाहना
नौलो घाम उदाउने दिन गनी यौटै लिई कामना ।।
यौटै सभ्य समाजको रहरमा साथै उठेका थियौँ
यौटै मन्त्र लिएर गाउँघरमा साथै जुटेका थियौँ ।।१।।

साह्रै हर्ष थियो उमङ्ग मनमा हट्दै थियो वेदना
मान्छे एकसमान हुन्छ अब ता आएर नौलापना ।।
भन्दै हात मिलाउँदै गति लिँदै मुस्कान छर्दै थियौँ
फुल्नेछन् सपना भनेर मनमा वात्सल्य भर्दै थियौँ ।।२।।

ठूला सङ्कटमा थिए दिनहरू साथै हिँडेका थियौँ
भोका पेट लिएर त्यो समयमा साथै भिडेका थियौँ ।।
सम्झी ती इतिहासका दिनहरू रम्दै र गम्दै छु म
के भो आज अहो ! चिसो हिउँ भई जम्दै छु जम्दै छु म ।।३।।

कोहीमा सुविधा अपार रसिला क्वैको भने दुर्दिन
आस्थाका बलिया धरोहर थियौँ फाटो परेको किन ।।
साथीले पनि घात गर्न कसरी सक्छौँ र भन्ने थियो
साझा लक्ष्य कता गयो भन सखे ! विश्वासमा के भयो ।।४।।

पैले जङ्गलमा थियौँ सँगसँगै सन्त्रास रातोदिन
ऐले मङ्गलमा छ बास कतिको भेट्नै छ गाह्रो किन ।।
भान्छा एक थियो मिलेर सबले खाने गरेको जहाँ
उस्तै हाल थियो समान गतिको साथी हरायौ कहाँ ।।५।।

ज्याग्दीखोला, स्याङ्जा