केशवराज पौडेल


मानौँ स्वर्ग फुटी चुहेर रजले पोतेसरी रक्तिम
गाला लाल छटा विचित्र मनमा उठ्ने नयाँ भावना ।।
पृथ्वी दिव्य बिहानको समयमा बिम्झेर हेर्दै छँदा
कोल्टे फेर्नु छ देशले उठ लिई विज्ञानका ज्यावल ।।१।।

सुत्यौँ धेर बिते बुझ्यो र कसले पुस्ता सयौँ फेरिए
आफैँ हुन्छ भनी रुँगेर अरुको बाटो कुरी सिद्धिए ।।
मागी हात पसार्छ आश भरमा कुर्दा र बस्दा बिते
हाम्रो धेर छ पुग्छ लौ लग भनी बाँड्दा कति रित्तिए ।।२।।

फेरिए युग चक्र वर्तुल घुमी फर्केन कैल्यै तर
हाम्रो नीद खुलेन राप अरुको सल्केर डढ्दा घर ।।
हाम्रै साथ थियो हिजो तर अहो ! फड्केछ उस्ले कति
आविष्कार अनेक अद्भुत कला विज्ञानको उन्नति ।।३।।

ईर्ष्या डाह गरेर हुन्न उसको सिक्दै कडा साधना
बोकी ज्यावल ज्ञान सीप श्रमका गर्दै नयाँ सिर्जना ।।
आफ्नो भूमि बनाउने प्रण गरी निस्कौँ जुटौँ एक भै
फड्को मार्नु छ उफ्रिएर नजिकै हेर्दा त पुगिन्न है ।।४।।

फोर्दै पत्थर मार्ग खोल्नु छ यहाँ त्यो दूर गाउँतक
बत्ती झिल्मिल बाल्नुपर्छ पहिले उद्योगका खातिर ।।
ज्योत्स्ना छर्नु छ चेतना घरघरै राँको बनी सल्कियोस्
सारा मानिसको समग्र क्षमता एकठ्ठ भई उर्लियोस् ।।५।।