उस्तै छ घर
कोठा उस्तै ।

कोठामा राखिएको सोफा उस्तै
भित्तामा टाँगिएको तस्वीर उस्तै
सबै उस्तै, दुरुस्तै छन्
हामी सबै उस्तै छौँ ।

भोजराज न्यौपाने

लिभिङ रुमको तस्वीरमा उस्तै छ तपाईँको मुस्कान
तपाईँ सुत्ने बेड
तपाईँले स्नेहपूर्वक लगाउने घडी, औँठी र कपडा
तपाईँले पढ्ने वेदका पुस्तक
र पढ्ने बेला लगाउने चस्मा
सबै दुरुस्तै छन् ।
तपाईँले सुन्ने भजनका सिडीहरू
तपाईँले हेर्ने टेलिभिजन
सबै उस्तै छन् ।

भूकम्पले घर भत्किँदा
भग्नावशेष बने
तपाईँले बजाउने हार्मोनियम, तबला र मादल
उस्तै छन्
खुट्टाले ताल मिलाउने कठताल र झ्याली
भजनको रातो डायरी
सबै उस्तै छन् ।

उसैगरी चलिरहेको छ तपाईँलाई शीतल पार्ने पङ्खा
उसैगरी न्यानो बाँडिरहेको छ तपाईँले ताप्ने हिटर
उस्तैगरी दराजमा थन्किएको छ, ब्लडप्रेसर मोनिटर
तपाईँले प्रयोग गर्ने ‘पोलो परफ्युम’
केही फरक छैन
फरक छ त
बुबा सिर्फ हजुर हुनुहुन्न !

जन्मेदेखि हजुरकै काखमा खेलिरहेको सानो छोरा
अझै पनि सोधिरहन्छ
बाबा, बुबा अब कहिल्यै आउनु हुन्न ?
घर नजिकै छिमेकीले भजन गर्दा
हरेक पटक आमाको मन कुँडिन्छ
भन्नुहुन्छ — तेरो बुबाको जस्तो त कसैले गाउनै सक्दैन ।

केही दिन बिराएरै स्पर्श गर्छु, हजुरले लेखी छाडेका केही पत्रहरू
सुमसुम्याउँछु
भरिन्छु एक्लै एक्लै !
साँच्चिकै कठिन हुने रहेछ बुबा
आफ्नै पितालाई सम्झेर रुन पनि एकान्त चाहिने रहेछ ।

हरेक दिन यस्तो छैन होला जुन दिन हजुरलाई नसम्झी बस्न सकूँ !
सम्झँदा-सम्झँदै पनि, मन बुझाउनै सक्दिनँ
उस्तै गरी चलिरहेको छ, तपाईँ सुत्ने कोठाको भित्ते घडी — टक टक टक
बुबा ! भन्नुस् न कसरी रोकियो
तपाईँको मात्रै हृदयको घडी ?