त्यस्तो गहिरो निद्रा हो मृत्यु
जो, संसारको भीषण आँधीबेहरीले पनि
तोड्न सक्दैन, उसको अनशन !

भावविह्वल भएर जप्नुस् उसका अगाडि
कारुणिक मन्त्र

युग सर्वनाम

राखिदिनुस् आफ्नै मुटु झिकेर उसको छातीमा
खन्याइदिनुस् जति छन् उसलाई खुसी पार्ने शब्दहरू
राखिदिनुस् उपहारस्वरूप संसारकै बहुमूल्य सामान
फलाकिदिनुस् लोभलालचका अनगिन्ती तर्कहरू

तर अहँ !
तोड्न सक्दैन उसले आफ्नो अनशन !

कात्रोमा बेर्दै गर्दा तर्साइदिनुस्
भूत र किचकन्याको वस्त्रमा उत्रिएर
चितामा राख्दै गर्दा देखाइदिनुस्
आगोभन्दा भयानक चिज
चिहानमा गाड्नुपूर्व राखिदिनुस्
भुईँचालो भन्दा खतरनाक कम्पनको आहालमा
अथवा, दागबत्ती दिँदै गर्दा भनिदिनुस्
“म जीवनभर तिम्रो दासत्वको पैतालामुनि
आफ्नो अस्तित्व मेट्न तयार छु´´

तर अहँ !
तोड्न सक्दैन उसले आफ्नो अनशन !

जब मृत्यु आफ्नो सत्याग्रहको
परिधिमा रहेर वैकुण्ठको सवारमा जान्छ
धुमिलिँदै जान्छ हाम्रो आँखाबाट उसको चेहरा
भत्किँदै जान्छ ऊसँगको यादको सतह
पातलिँदै जान्छ हाम्रो आत्मीयताको सघन छाया

तर
मस्तिष्कको सङ्ग्रहालयमा ऐतिहासिक बनिरहन्छ
उसको अस्तित्वको अरिपन ।

रोल्पा