मेरो सानो बगैँचामा
केही गेडी छरेको मैले रहरले
थाहा थिएन कुन जातका हुन्
सबैको देखेर
छर्न थियो छरेर रहर पूरा गरेँ ।

नारायण शर्मा

केही दिनमै सबै गेडीहरू टुसाउन लाग्दा
सबैलाई बराबरी मलजल गरेर हुर्काउन लागेँ
र पनि
थाहा भएन प्रजाति
बिस्तारै दुईपाते हुन लाग्दा पनि
ठम्याउन सकिनँ प्रजाति ।

रहरलाग्दा थिए
त्यसैले
हुर्काउँदै गएँ
बढाउँदै गएँ
बिरुवाहरूलाई ।
केही दिनपछि बिरुवाहरूले मुसुक्क हाँसेर
आकाशतर्फ लम्किन लाग्दा
मैले उनीहरूको परिचय पाएँ
त्यहाँ
कोही विषालु झार
कोही सुगन्धित धनियाँ
कोही पिरा खोर्सानी
उम्रेका रहेछन् ।

सुगन्धित धनियाँको सुगन्धले
बगैँचा मगमगाउँदा म खुसी भएँ
किनभने
विषालु झारको बैगुन र
खोर्सानीको पिरोलाई
धनियाँको सुगन्धले
जितेको थियो त्यहाँ ।