डा. दामोदर पुडासैनी किशोर

उभिएको छु
बमले डढेका
आमाका घाउहरू टेकेर
लुगलुग काँपिरहेछु
डुब्न लागेका घामजस्ता आँखाहरू
रगत र विषालु धुँवाका केस्राहरूमा झुन्ड्याइरहेछु

तिमी गहना भन्ठानौला
मुटुमा सुसाइड बम
र घाँटीमा
मेसिनगन च्यापेर
अँध्यारो सुरङमुनि भागिरहेछु
पँखेटाहरूलाई सिलाइँदै छन्
फलामका धारिला डोरीहरूले

आँखाहरू
लुकाउन बाध्य पारिँदै छ
आदिम ओडारको अन्धकार सुरुङभित्र
पाइलाहरूमा पटक-पटक ठोकिइरहेछन्
तीखा र धारिला नेलहरू
अँध्यारो धपाउँदै आएको झिसमिसे
एक्कासि फर्कन खोज्दै छ मध्यराततिरै
मेरी आमालाई बलात्कार गर्न तम्सेका पराईहरू
भर्खरै भागेजस्तो गर्दै छन् मरुभूमिको धुलोसँगै
यता घरकैहरू
हाडनाता करणी गर्ने फर्मान जारी गरिरहेछन्

आमाको मायालु अनुहार हेर्न पनि
किन मैले तिम्रो आदेश कुर्नुपरिरहेछ ?

मलाई थाहा छ
मेरो प्रेमको ट्याटु
आफ्नै रगतले छालामा कोरेँ भने
कोर्रा र ढुङ्गाले उडाइनेछन् मेरा हर धुकधुकी
र छिनालिनेछ घाँटी
भर्खरै अर्जापेको हतियारले

मेरो आलो प्रेम
निस्कन दिइन्न
मुटुको कान्लाभन्दा बाहिर
हरेक मान्छेहरूलाई
किन देख्दै छु म
दिमागहीन दर्शनढुङ्गा ?

समयसँगै
भेष बदलेर पराईहरूले
जीवनको होइन
मृत्युको अभ्यास गरिरहे मझेरीमा
आँगनबाट पराईहरू फर्कन नपाउँदै
घामको विरिद्ध उभ्याउन खोज्दै छ कसैले
विषालु र काला पर्खालहरू

धर्म नामको विशाल स्तम्भ ठड्याएर
किन क्षण क्षणमा गरिँदै छ बलात्कार
किन छाला काडिँदै छ आधा आकाशको
किन बाध्य पारिँदैछ उल्टो बाटाको यात्रा गर्न

हतियारको सहारामा
कहाँ छेक्न सकिन्छ घामलाई हत्केलाले
कहाँ सकिन्छ रोक्न निमेषभर समयलाई ?

बालुवा र मरुभूमिमा एउटा गुलाफ रोप्न देऊ मलाई
ढुङ्गा बनेको मान्छेलाई ज्युँदो रगतमा अनुवाद गर्न चाहन्छु म

मुटु जलाएको खरानी बेचेर
फेरि किन्नु छैन मलाई
ढोका थुनिएको सुनको पिँजडा

घरभित्रकाहरू क्रूर पराईको कानेखुसी सुन्छन्
र सल्काउँछन् आगो आफ्नै परिवार विरुद्धमा
घर बाहिरकाहरू अङ्कमाल गर्छन्
कुन षडको चोर्छन् हाम्रै मुटुलाई
र दनदनी डढाइदिन्छन् हाम्रा सारा अवयवहरूलाई

जो जसले बाले पनि
डढाउने नै हो आगाले सबैलाई
म भने यतिखेर
आगाको लप्काबाट निस्केर फूल जोगाउन दौडिरहेछु

आधा आकाशलाई जमिनमुनि पुर्न
हरतरहले लागेको छ नयाँ शासक ।

ग्वँग:बुँ, नयाँ बसपार्क, काठमाडौँ