डा.नाज सिंह(रसिया)

कसको जीवनमा
दुःखले कत्ति ताप दिएको छ
सुखबाट कत्ति राप लिएको छ
सक्छ र नाप्न कसैले !
मुस्कानले दिन्छ हरदम सकारात्मक ऊर्जा
तर भित्री मनको भित्री अन्धकारलाई
देख्छ र कसैले !
रुनेहरू हाँसेर वार्ता गर्छन्
र रसाएका आँसु गहमै सुकाउँछन्
हाँस्नेहरू रोएको अभिनय गर्छन्
र मनको काउकुती हृदयमै लुकाउँछन्
यसरी चलिरहन्छ जीवनको चक्र
रुनु र हाँस्नु हुँदै
जस्तो कि उज्यालो दिनपछिको चकमन्न रात
अनि अँध्यारो रातपछि फेरि
एउटा नयाँ बिहानीको सुरुवात !
आँखाले देखेको दृश्य र कानले सुनेको शब्द
जहिले पनि सत्य हुँदो रहेनछ
जीवनको पाना त अन्यौल अन्यौलमै
केरमेट गरेरै भरिँदो रहेछ !
आफैँ त को छ र संसारमा सर्वोत्तम
तर पनि हरेकले कोसिस त गरेकै हुन्छ
सफलता र असफलता त केवल बाटाका चौतारी न हुन्
शून्य आकाशले पनि आफ्नो रङ्ग त भरेकै हुन्छ
सिराहा
हाल : मस्को (रसिया)