नीलिमा आचार्य (असम)

मुटुभरि देशको माया हुँदाहुँदै पनि 

छातीमा देशको तस्बिर सजाए पनि

आफ्नो मुटुलाई नै देश बनाए पनि 

म देशको सन्तान हुँ भनेर 

तथ्यसहित भन्नुपर्दा 

दुःख लाग्छ

 

त्यहाँ एउटा नदी थियो 

त्यो नदीको छालले 

बगाएर लग्यो 

उसका दुई प्रमाणपत्रलाई  ।

 

त्यही दिनदेखि 

ऊ टुहुरो भएको 

दुःख लाग्छ 

मायाँलाई कालो चस्मा भिरेर 

कति गहिरो छ 

जोख्दा चोखो हो कि होइन 

परीक्षा गर्दा कसरी भनोस् 

दुई छहारी गुमाएपछि 

माटो नै उसकी आमा भइन् 

माटाकै काखमा ऊ खेल्यो-बढ्यो 

उसको अतीत तथ्य भए ..! 

 

प्रश्नको कठघरामा ऊ 

खडा हुने थिएन होला 

तर आजको यो बजारमा 

भावनाको केही मूल्य छैन  ।

 

तथ्यले सबै कुरा छोपेको छ 

तथ्य नै राजा तथ्य नै प्रजा

तथ्याङ्कअनुसार काम हुन्छ 

चाहे त्यो साँचो होस् या झुटो 

मुटुभित्रको मायाको 

छैन प्रमाणपत्र 

छैनन् केही तथ्य ।