‘निकालियो तपाईंलाई
काखी च्यापियो उसलाई
केही आधार देख्दिनँ म
न गल्ती छ तपाईंको
न बढी योग्यता छ उसको,’
सुनाए एकजनाले।
चिन्ताले भने
या उक्साउन भने
दोधारमा परेँ म।
“किन चुप तपाईं ?”
फेरि सोझियो प्रश्न।
“नाकको एलर्जी छ त्यसैले,”
झटपट उत्तर आयो मेरो।
छक्कै परे उनी
“त्यसको के सम्बन्ध ?”
बोल्दै थिए उनका आँखाहरु।
“अनि बान्ता हुन्छ मलाई
उसलाई हुँदैन,”
उनी अवाक्
माहोल ठन्डा।
“हैन सर ! यसको के सम्बन्ध ?”
कठिन गरी सोधे केहीबेरमा।
टीठ लाग्यो मलाई
झोला खोलेर निकालेँ अत्तर
बोलेँ उनीतिर सोझ्याउँदै
“आफ्नै काखी त सहन सक्दिनँ
अर्काकोमा च्यापिएर बाचौँला कसरी?”
मुसुक्क हाँसे उनी।