यहाँ खै के लेखूँ सबतिर दुखेको छ समय
कहाँ आफ्ना भेटूँ अतिशय झुकेको प्रतिपल
छ यो कोरोनाकै प्रलय अति यो भोग्नु कसरी ?
कतै छैनन् आशा पुलकित हुने जीवनभरि ।।
अकालैमा मर्ने कति कहर यो भोग्नु छ यहाँ
सजाएको जागा मृदुल सपना मर्दछ जहाँ
अझै पाएनन् खै विकल जनता खोप सजिलै
निराशामा बाँच्ने सकल मुख यी देख्छु मलिनै ।।
कहाँ खोजूँ साँचो अमृतपनको मूल्यमहिमा
कहाँ भेटूँ प्यारो विपुल मनको हार्दिक पना
न भेटिन्छन् हाम्रा सहमति हुने लक्ष्य तगडा
न लेखिन्छन् हाम्रा सघन गहिरा मार्मिक कुरा !!
सधैँ गायौँ हामी प्रखर सुकिला गौरव कथा
कठै ! छौँ नेपाली दिनदिन भयौँ खिन्न अबला
बगायौँ ऊर्जाका श्रम र पसिना स्वार्थ नगरी
भएनन् क्यै चिन्ता प्रगति गतिमा भो मनपरी ।।
सिमल्ने कल्ले हो विमति सब यी झाँगिन गए
सुधार्ने कल्ले हो सकल थिति नै भत्किन गए
अझै कोरोनाको असर कति यो पर्छ जनमा
सुनौँ हेक्का राखी कति दिन यसै चल्दछ यहाँ ?
कहाली लाग्दा यी समय कति भोग्ने सकसमा
सबै देख्दा लाग्ने अब कति छ बाँच्नै बकसमा !
सधैँ बन्दाबन्दी कति दिन सहन्छन् भन अहो !
छ संसारै बन्दी छलकपट हो वा नियति हो ?
न चिन्ने भो बेला सकल जनको मास्क मुखमा
न बोल्ने भो खेला जब जहर त्यो ताक्छ मुखमा
कसोरी बग्ला यो समय गतिको सुन्दर नदी
त्यसै के सुन्ला खै करुणमय यो व्याकुल ध्वनि !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।