म जन्मिन चाहन्न आमा
अहँ म जन्मिन चाहन्न
यी नरपिचासहरूका बीचमा
जन्मनु छैन आमा
जन्मेर आफैँ बलात्कृत भएको हेर्न पनि त सक्दिनँ
आमा त्यसैले
त्यसैले
मलाई नजन्माऊ आमा
म त्यो सात बर्से बालिका बन्न चाहन्न आमा
म त्यो सात बर्से बालिका बन्न चाहन्न आमा
मलाई ती तमाम निर्मलाहरू नि हुनु छैन आमा
जसको प्राण हर्ने अहिले नि छाती फुलाएर हिँड्छ आमा
जसलाई अहिले नी पश्चात्ताप छैन आमा
अहँ मलाई नजन्माऊ आमा
छिमेकी अङ्कलले चकलेट दिँदा छुइनु छैन आमा
छिमेकी अङ्कलले चकलेट दिँदा छुइनु छैन आमा
आफ्नै मिल्ने साथीबाट पनि लुटिनु छैन आमा
७० वर्षको हुँदा पनि शरीर लुछिनु छैन आमा
छोरी भएर जन्मिनु नै अभिशाप भयो अब त
आफ्नै ससुराका कारण मलाई मर्नु छैन आमा
आमा
मलाई नजन्माऊ आमा
अहँ म जन्मिन चाहन्न आमा
हुन त एउटा छोरी नै राष्ट्रपति भएको देश हो यो
हुन त एउटा छोरी नै राष्ट्रपति भएको देश हो यो
वीर गोर्खालीको गाथा गाएको देश हो यो
तर सतीले नै सरापेर होला है
राउटेजस्ता लाचर छोरीसमेत लुट्ने देश हो यो
मलाई नजन्माऊ आमा
यहाँ न्याय पाउन पनि गुहार गर्नुपर्छ
बलात्कारीलाई सजाय दिन आन्दोलनमा पर्नुपर्छ
युट्युबमा भ्युज बढ्छ केही दिन
तर कारबाहीका लागि नेताका आफन्त हुनुपर्छ
मलाई नजन्माऊ आमा
बलात्कारी बचाउन सरकार नै लाग्छ यहाँ
जनताको लासमा पनि राजनीति हुन्छ यहाँ
फाँसीको कानून त ल्याउने हिम्मत नै छैन यिनमा
फेरि आफ्नै छोरा भतिजा जेलमा जाक्नुपर्छ यहाँ
बरु
जन्माउनु नै छ भने
त्यस्ता दानवहरूलाई संहार गर्ने
देवी भगवती बनाएर जन्माऊ आमा
चेलिमा गिद्धे नजर लगाउने आँखा
निकाल्न सक्ने क्षमता दिएर जन्माऊ आमा
बलात्कारीलाई सजाय दिन सक्ने कानून
बनेपछि मात्र जन्माऊ आमा
नत्र सामान्य छोरी बनाएर
मलाई नजन्माऊ आमा ।
कञ्चनरूप नगरपालिका सप्तरी
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला