म लेख्दै र पढ्दै
उज्यालोतिर बढ्दै छु जहाँ
म रमाउँदै र कमाउँदै
मेरै पुर्पुरो बदल्न सुमसुम्याउँदै छु जहाँ
मेरै श्रम र सिर्जना चुमाउँदै जब
आफ्नै हात पाखुरा घुमाउँदै तब
पानी बाँचेर पसिना गुमाउँछु यहाँ !
म हिँड्देै र दगुर्देै
सभ्यतातिर उफ्रिँदै छु जहाँ
म गुडाउँदै र उडाउँदै गोडा
म मेरै पाखुराका पखेटा पखेरामा फटफटाउँदै
म आँखामा आँखा जुधाउँदै
समान देख्देै बालक, बुढापाका
पूर्वमा हाल्दै पश्चिमका भाका
सम्हाल्दै उत्तर र दक्षिणका नाका
सत्य र शान्तिले सबैलाई सघाउँदै यहाँ
सकभर सघाउन सिकाउँदै पनि
पानी बाँचेर पसिना गुमाउँछु यहाँ !
म जोत्दै र जोतिँदै पनि
म पोत्दै आँगनमा र पोतिँदै पनि
अनि हुन्छु स्वच्छ र देखिन्छु सफा
थपिदिन्छु सुन्दरताका असङ्ख्य दफा
मेरै माटाामा फलाएर अन्न
माना, पाथी, धार्नी र मुरी टन्न टन्न
म आफैँ उभिन्छु स्वावलम्बी बन्न
पानी बाँचेर पसिना गुमाउँछु यहाँ !
म फलाम रोपेर सुनचाँदी उमार्दै
पसिनाले तनका तन्तु चहार्दै
रोपेर माटाेमा र खोपेर पाषाणमा
असारमा उठेर दगुर्दै म पुग्छु मङ्सिरमा
हिउँदमा हिमचुली थामेर
वसन्तमा पातलो वस्त्र छामेर
आफैँलाई बार-बार नियाल्दै
नयाँ चेतना हृदयमा अँगाल्दै
र जोसजाँगरको सागर उमाल्दै
पुरानो सारा फोहोर मैलो फाल्दै
मेची, कर्णाली र कालीले पखाल्दै
हत्केलामा हर्षको पहाड उचाल्दै
सदैव समयको शुभेच्छाले
म आफ्नै इच्छाले
पानी बाँचेर पसिना गुमाउँछु यहाँ !
*****
सिगास – २, बैतडी
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला